जनशक्ति व्यवस्था भएपछि खाद्य प्रविधिकाे सेवामा कोसेढुंगा सावित हुनेछ : महानिर्देशक राय - pharaksandesh.com

मुख्य समाचार


Monday, 7 December 2020

जनशक्ति व्यवस्था भएपछि खाद्य प्रविधिकाे सेवामा कोसेढुंगा सावित हुनेछ : महानिर्देशक राय


काठमाडाैँ, २२ मङ्सिर : 
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले हालै प्रथम चाैमासिक प्रतिवेदन सार्वजनिक गरेकाे छ ।  विभागले नयाँ नेतृत्व पाएसँगै  विभाग भित्र रहेका अनियमितता न्युनिकरण हुने अपेक्षाअनुसार नै  विभागकाे उपस्थिति बजारमा बढेकाे पाइन्छ । तर अहिलेकाे उपस्थितिलाई अझै बढाउनुपर्ने उपभोक्ताले माग गरेका छन् । खाद्य स्वच्छता कायम गर्दै गुणस्तरीय खाद्य वस्तुको सुनिश्चित गर्न विभागले कारवाहीको दायरा बढाउनु पर्ने उपभोक्तावादीहरुको माग छ । यस्तो अवस्थामा विभागको नेतृत्व सम्हाल्नुभएका नयाँ महानिर्देशकको तयारी के छ ? तीन महिनाको अवधिमा के कस्ता चुनौतिको सामना गर्नु पर्यो ? विभागभित्र देखिएको अस्वस्थ प्रतिस्पर्धा र असहयोगको अवस्थालाई कसरी व्यवस्थापन गर्दै चुस्त सेवा प्रदान गर्नुहुन्छ भन्ने विषयमा केन्द्रित रहेर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक उपेन्द्र रायसँग फरकसन्देशका सम्पादक सरोज रिजालले गर्नुभएको कुराकानी प्रस्तुत गरेका छौँ ।

१) खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको महानिर्देशकको जिम्मेवारी सम्हाल्नुभएपछि के कस्ता चुनौतिहरु देख्नुभएको छ ?
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले झण्डै ५० वर्षको अवधि पूरा गरिसकेको छ । अब यो विभागको संरचना र यसले दिनुपर्ने सेवा सुविधा, यसको जनशक्ति तथा उद्देश्य अनुसार बजारमा खोजेको डिमाण्ड हो, त्यो डिमाण्ड अनुसार उपस्थिति वा सप्लाइ गर्न सकेको छैन । अब यसमा धेरै कारणमध्ये अहिले ऐन कानूनहरु पूरानो भयो । कतिपय ऐन कानून पुरानो भएकाले ती ऐन नियम र कानून निमाणर्को चरणमा रहेकाले पनि केही कार्य गर्न असहज देखिएको छ । दरबन्दी अभाव छ । सेवा विस्तार भएअनुसार दक्ष जनशक्तिको व्यवस्थापन हुन सकेको छैन, आवश्यकता अनुसार थोरै भएको, तरपनि संघमा छौं । कणर्ली र गण्डकीमा पहिला उपस्थित थिएन । अहिले प्रत्येक प्रदेशमा विभागको उपस्थिति रहेको छ । पहिला हामी ५ क्षेत्रिय र विभाग गरी ६ ठाउँबाट सेवा दिइरहेको विभागले हाल ७ प्रदेशका ४३ ठाउँमा बढेको छ । प्रदेश १ मा विराटनगर, प्रदेश २ मा जनकपुर, बाग्मती प्रदेशमा हेटौडा, गण्डकी प्रदेशमा भैरहवा, कणर्ली प्रदेशमा हाल छैन तर नेपालगंज र धनगढीमा छ र सुदुरपश्चिम प्रदेशमा सुर्खेत र पोखरामा छैन तर सुर्खेतमा भवन बनिरहेकाले त्यहाँ पनि जनशक्ति व्यवस्थापन छिट्टै हुनेछ ।

२) तपाईंले विभागको नेतृत्व सम्हाल्नुभएसँगै के के योजनाहरु ल्याउँदै हुनुहुन्छ ?
मैले विभागको नेतृत्व सम्हालेको तीन महिना पूरा भएको छ । मेरो मुख्य योजना भनेको नै बजारमा उपस्थिति जनाउने हो । बजारमा उपस्थित भइसकेपछि बजारमा देखिएको विकृति र खाद्यमा भएको कानून अनुसार नभएका गतिविधिलाई नेपाल सरकारले तोकेको खाद्य ऐन एवम् दाना ऐन अनुसार कारवाहीमा लाने, यहाँ कार्यरत जनशक्तिलाई उपयुक्त तालिमको व्यवस्था गर्ने र अहिले दिँदै आएको प्रयोगशाला सेवा १०-५ को सेवालाई २४ घण्टा सेवा सञ्चालन गर्ने रहेको छ । खाद्य गुणस्तरको कार्यन्वयन गर्दा तीन स्टेप हुन्छ । खाद्य गुणस्तरको तीनवाट स्टेपमा प्रि बोडर, बोडर र पोष्ट बोडरमा चेक जाँच हुन्छ । प्रि बोडरमा आयात गरेको खाद्य वस्तुको तोकिएको आयुको ६० प्रतिशत अवधि रहेको चेकजाँच हुन्छ भने वस्तुको उत्पादन मिति र अन्य विवरण हेरिन्छ । त्यसपछि पुनः बोर्डरमा खाद्य आयात निर्यातमा परीक्षण गरिन्छ । विभागले गुणस्तरको जाँचको लागि अनलाइनको तयारी सुरुगरिसकेकाले अब छिट्टै अनलाइनमार्फत चेकजाँच गर्ने व्यवस्था हुनेछ । यसो हुँदा अनलाइन मार्फत आयातलाई सहज बनाइनेछ । नेपालको कुनै पनि ठाउँबाट कुनै पनि व्यक्तिले आयात निर्यात गर्दा एकद्वार प्रणालीमार्फत अनलाइनमार्फत फाराम भरेर सेवा लिन सकिने व्यवस्था मिलाउन लागि परेका छौं । यस्तै संघको संरचना अनुसार अब केन्द्रिकृत रुपमा रहेको सेवालाई प्रदेश स्तरमा विस्तार गर्ने तयारी गरेका छौँ । प्रदेश नं. १ अलैची, अदुवा, चिया उत्पादनको मुख्य क्षेत्र हो । त्यहाँ उत्पादन भएको अलैची, अदुवा, चिया जस्ता वस्तु बाहिर निर्यात गर्दा अहिले काठमाडौँबाट मात्रै गुणस्तर जाँच र प्रमाणिकरण हुने अवस्था छ । यो विश्वभर मान्यता प्राप्त प्रयोगशाला हो, देशका अन्य क्षेत्रमा छैन । अब छिट्टै विराटनगरबाट सोही अनुसारको प्रयोगशालाबाट गुणस्तर जाँच र प्रमाणिकरण हुने गरी सेवा विस्तार गर्ने तयारी विभाग जुटेको छ । विराटनगरमा भवन निर्माण भइसकेकाले उपकरण र जनशक्ति व्यवस्थापन गरेर त्यहीबाट सेवा उपलब्ध गराउने तयारीमा विभाग लागेको छ । विभागले त्यस प्रकारका सेवा अन्य प्रदेशमा पनि विस्तार गर्ने तयारीमा लागेको छ । यो वर्ष पनि केही उपकरण किन्ने तयारीमा विभाग रहेको छ । दक्ष जनशक्तिको अभाव भएकाले त्यसको व्यवस्थापनमा विभाग लाग्दैछ । भौतिक सुविधाको लागि मन्त्रालयसँग समन्वय गरेर अगाडि बढिरहेको छ । 

हामीले उत्पादन गरेको वस्तु उपभोग नगरी अन्य वस्तु प्रयोग गर्दा स्वास्थमा नकारात्मक असर भइरहेको छ । हाम्रो संस्कार परिवर्तन भएर भातको मात्रै माग बढेकाले चामल मात्रैको माग बढ्यो तर मकै, फापर वा अन्य अन्नको माग कम देखिएको छ । भात संस्कृतिले गर्दा चामलको डिमाण्ड बढ्यो हामीले उत्पादन गरेको मकै, फापरको प्रयोग भएन । मकै र कोदोको अन्न प्रयोग बढाउन सकेमा नसर्ने रोगको नियन्त्रणमा सहयोग पुग्ने थियो । त्यही वस्तुको कम्पोजिट फ्लोर भनेर डाइजेष्टिभ विस्कुट आयो । तर त्यो कम्पोजिट फ्लोरको रोटी वा परौठा बनाएर खान सक्यौं भने पोषणको कमि हुने थिएन र नसर्ने रोग लाग्ने थिएन । सबै राजनैतिक पार्टीको एजेण्डामा पोषणको सुधार, कुपोषणको न्यूनिकरण भनेर आयो, हो यसैलाई सम्बोधन गर्ने हो । पोषणयुक्त खानाबाट आउ बढाउने हो ।

उच्च रक्तचाप, डाइबेटिजस्ता नसर्ने रोगबाट बच्न खाद्य पद्धार्थको प्रयोगमा अन्न बढाउने र सन्तुलित भोजन लिनु पर्ने हुन्छ । आइरन र प्रोटिनको कमि भएर शरीरमा विभिन्न नसर्ने रोग देखापरिरहेको छ । पोषणको अभावमा लाग्ने रागहरुलाई नियन्त्रण गर्न पनि खाद्य पोषणमा ध्यान दिन सकेमा रोग नियन्त्रण गर्न सकिन्छ । 

बच्चालाई कस्तो लिटो दिने, गर्भवती महिलालाई आवश्यक आइरन कसरी दिने भन्ने विषयमा अन्नको उपयोगमा सन्तुलन ल्याउन सक्नुपर्छ । हाम्रो दाल, भातमा, अन्नमा आइरन बढी छ तर त्यसलाई शरीरले लिन सकिरहेका छैनौं । यसो हुनुको कारण खाद्य बानी नमिलेर हो । हामीले अन्नको प्रयोग गर्दा कागती साथमा खायौं भने त्यसबाट प्रयाप्त आइरन शरीरलाई उपलब्ध गराउन सक्ने थियौं । हेमोग्लोबिनको मात्रा बढ्छ । हाम्रो शरीरमा चाउरीपन नदेखिने, आइरन कमि नहुने आदि हुन सक्छ । असन्तुलित भोजनका कारण नै विभिन्न रोग लागिरहेको छ । त्यसलाई नियन्त्रण गर्न खाना संस्कार परिवर्तन गर्नु आवश्यक छ । खाद्य विभागले खाद्य बस्तुको गुणस्तर कायम गर्न लागिरहेको छ । उपभोक्ताले खाद्य वस्तुको उत्पादन, कहिलेसम्म उपभोग गर्न मिल्छ लगायतका विषयमा ध्यान दिन आवश्यक छ । जनचेतना जगाउने, खानाको पोषण, गुणस्तर आदिको बारेमा सचेत हुनु आवश्यक छ ।

३) जनचेतना बढाउन नसकेका कारण उपभोक्ता शिक्षा प्रभावकारी हुन नसकेको हो नि होइन ? विभागले प्रचारप्रसार गर्न नसकेको हो ?
विभागले जनचेतना अभियान कै कार्यक्रम सञ्चालन गरिरहेका छौँ । नेपाल सरकारले दिएको बजेटको परिधिभित्र रहेर प्रचार गरिरहेका छौ तर प्रयाप्त साधान स्रोतको कमिको कारण चाहेजति प्रचारप्रसार गर्न नसकिएको हो । उपभोक्ता शिक्षामा अज्ञानताको कमि न्युनिकरण गर्न विभागले राष्ट्रिय मिडियालाई उपयोग गर्न सकिरहेको छैन । यसबारेमा आगामी दिनमा जनचेतना बढाउन विभागले ध्यान दिनेछ ।

४) खाद्य सुरक्षामा स्वच्छता, हामी सबैको प्रतिबद्धता भन्ने नारासहित अगाडि बढेको विभाग नारामै सीमित देखिएको छ नि ? 
खाद्य सुरक्षामा स्वच्छता भन्ने धेरै वृहत विषय हो । त्यही भएर नेपाल सरकारले २०७६ सालमा खाद्य स्वच्छता नीति पारित गरेको छ । अब ऐन आउँदैछ । अनि त्यो कानूनीरुपमा कार्यन्वयन हुन्छ । यो स्वच्छता भनेको के भने तीन किसिमबाट खाद्यको स्वच्छतालाई हेर्नुपर्ने हुन्छ । भौतिक रुपमा के छ ? केमिकल के छ ? आखाले नदेखिने किराबाट कसरी बचाउने ? यो तीन वस्तुबाट कसरी बचाउन सकिन्छ त्यसमा खाद्य स्वच्छता कायम हुन सक्ने हो । भौतिक रुपमा भन्नाले ढुंगा, माटो आदि, केमिकल भन्नाले पेष्टीसाइडी आदि, एन्टीबायोटिकको प्रयोग आदिले असर गरेको छ । मुख्य गरी मासुमा ग्रोथ हर्मोन बढाउने औषधि प्रयोग गर्ने गरेको भेटिएको छ । तरकारीमा पनि पेष्टीसाइड प्रयोग हुने पाइन्छ । त्यस्तै गाइ वस्तु विरामी हुँदा एन्टीबायोटिक प्रयोग गरिन्छ । त्यो समयमा दुध त्यस गाइबाट नलिनुपर्ने हो तर त्यसो भइरहेको छैन ।

धेरै पहिला लेवलिङ विना नै खाद्य वस्तु विक्री वितरण हुने गरेकोमा हाल त्यसमा सुधार भएर खाद्यमा लेवलिङ हुने गरेको छ । त्यसमा पनि केही समय अगाडि रि लेवलिङ गरेर गणस्तर कम गर्ने गरेको भेटिएपनि त्यसको नियन्त्रणमा विभाग लागेको छ । सडेगलेको, लाइन होटलमा स्वच्छता थिएन, त्यसमा वर्गीकरण गरेर स्वच्छता कायम गर्ने प्रयास थालेको छ । लाइन होटलमा यात्रुले पनि सचेतना अपनाउनु आवश्यक छ । गृहिणीले खाद्य स्वच्छतामा सजग हुनु आवश्यक छ । खाद्य वस्तु किन्ने देखि पकाउने तरिकाले पनि पोषणमा असर गर्छ । उदाहरणको लागि साग पकाउने सन्दर्भमा पहाडे समुदाय र तराइ मधेशमा साग पकाउने, बनाउने तरिका फरक छ जसले पोषणको नोक्सानी हुने गर्दछ । केही धर्मले मासुका विषयमा केही निषेध गरेको जसबाट मुख्य प्रोटिनको स्रोत कम भएको देख्छौं ।

खाद्य उद्योग जसले ब्रान्ड कमाइसकेको छ त्यस्ता उद्योगबाट खाद्य गुणस्तरमा कमि हुँदैन । त्यस्ता उद्योगहरु खाद्य स्वच्छता कायम गर्न लागिपरेका छन् । तर साना केही उद्योगका उत्पादनमा गुणस्तर कायम हुन नसकेको भेटिएको छ । केही उद्योगले छिटो ठूलो उद्योगको रुप धारण गर्ने सोच वा क्षणिक लाभको लोभमा गुणस्तर र खाद्य स्वच्छता कायम नभएको भेटिएको छ । खाद्य स्वच्छतामा ती साना स्केलमा उत्पादन गर्ने उद्योगले ध्यान दिन सकेमा गुणस्तर कायम हुनसक्नेछ ।

खाद्य स्वच्छतामा अनविज्ञता हुँदा र पोषणमा सन्तुलन मिलाउन नसक्दा हामी सानो उमेरमै रोगको सिकार हुने गरेका छौँ । खाद्य स्वच्छतामा ध्यान दिन सकेमा सरकारले स्थापना गरेको नगरपालिका स्तरका अस्पतालमा विरामीको संख्या घटाउन सक्छौं । खाद्य स्वच्छता नीति पारित भइसकेको छ, अब ऐन आउँदैछ । हामी आशा गरौं योसँगै हाम्रो खानेबानीमा परिवर्तन हुन्छ । बजारमा उपलब्धता परिवर्तन हुन्छ । प्रत्येक वस्तुको लेवलमा कसरी बनाउने, कसरी खाने उल्लेख हुन्छ । यसबाट हामीले विभिन्न परिकार खायौं भने हाम्रो शरीरमा पोषणको कमि हुँदैन । तर दुर्भाग्य पोषणको जानकारी नहुँदा ३०-३५ वर्षको उमेरमा नै विभिन्न रोग लाग्न सक्ने अवस्था जुन अहिले बढिरहेको छ । अब यसलाई रोक्न वा कम गर्न खाद्य स्वच्छता नै प्रमुख उपाय हो ।


५) अब त विभागको संरचना बढेको छ । विभागलाई कसरी चुस्त तरिकाले कार्यसम्पादन गर्न तपाईंले के गर्नुहुन्छ ?
विभागको हाल ४३ स्थानमा सेवा विस्तार गरेर कार्य गरिरहेकोले अब जनशक्ति व्यवस्थापन विभागको पहिलो प्राथमिकता हो । दुई वर्षदेखि लोकसेवाबाट जनशक्ति आउन नसकेकाले करिब १२५ जनशक्तिको अभाव छ । हामीले आशा गरेका छौं, अब लोकसेवाले परीक्षा चाँडै सञ्चालन गरेर जनशक्ति उपलब्ध गराउँछ । हामी आशा गर्छौं त्यसपछि हामी ४३ स्थानबाट नै सेवा सुविधा दिन्छौं । त्यो ४३ डिभिजनमा तराईमा २ जिल्ला हेर्ने, पहाडमा २ वा तीन जिल्ला हेर्ने र हिमालमा ३ देखि ४ जिल्लासम्म हेर्ने गरी स्थानीय तह समन्वय गरेर काम गर्ने तयारी छ । जनशक्ति अभावमा भएको कार्यसम्पादनको कमिलाई लोकसेवाले जनशक्ति उपलब्ध गराउनेसाथ व्यवस्थापन गर्ने तयारीमा विभाग छ । जनशक्ति व्यवस्था भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकाे सेवामा कोसेढुंगा सावित हुनेछ । 

६) अन्त्यमा के भन्न चाहानुहुन्छ ?
उपभोक्तालाई म यहीँ भन्छु कि जब तपाई बजार जानुहुन्छ, अनि बजारमा जाँदा खेरी किन्ने बेलामा, के किन्ने? जस्तो खाद्य वस्तु किन्दा, तपाईले हेर्नुहोस् । प्याक भएको बस्तु हेर्ने, त्यो किन्ने, प्याक नभएको खुला बस्तु नकिन्ने, प्याक भएको बस्तु कहाँबाट उत्पादन भएको हो, कहिले उत्पादन भएको हो त्यो हेर्ने, कहिलेसम्म उपभोग गर्न मिल्ने हो त्यो हेर्ने, खाद्य प्रविधिले दिएको अनुमति लिएको छ कि छैन त्यो हेर्ने, त्यहाँ लिकेज छ कि छैन आदि जस्ता विषय त्यो हेर्न सकेमा हामी पैसा तिरेरआफ्नो परिवार आफ्नो स्वास्थ्यलाई बचाउन सक्छौं । म विश्वासको साथ भन्छु खाद्य प्रविधिले तोकेको मापदण्ड अनुसार उत्पादन भएको वस्तु छानेर लिनुहुन्छ भने सायद मलाई लाग्छ हामी खानाबाट हुने रोगहरुमा धेरै सुरक्षित हुन्छौं ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.