नेकपा बागमती संसदीय दल उपनेता र सचेतक पदमुक्त, मुख्यमन्त्रीले सोधे ३० सांसदसँग स्पष्टीकरण - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 30 December 2020

नेकपा बागमती संसदीय दल उपनेता र सचेतक पदमुक्त, मुख्यमन्त्रीले सोधे ३० सांसदसँग स्पष्टीकरण


काठमाडाैँ, १५ पुस :
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेकपा संसदीय दलका उपनेता र सचेतकलाई पदमुक्त गर्नुभएकाे छ । नेकपा संसदीय दलका नेतासमेत रहनुभएका मुख्यमन्त्री पौडेलले आफूविरुद्ध सत्तारुढ नेकपाकै प्रचण्ड–नेपाल समूहका ४५ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि संसदीय दलको विधानअनुसार उपनेता शालिकराम जमकट्टेल र सचेतक बुद्धिमान माझीलाई पदमुक्त गर्दै उहाँहरूसहित ३० सांसदलाई स्पष्टीकरण सोध्नुभएकाे हाे ।  

१० पुसमा प्रचण्ड–नेपाल समूहका ४५ सांसदले हस्ताक्षर गर्दै मुख्यमन्त्रीविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता गर्नुभएकाे थियाे । सरकार पक्षबाटै अविश्वासको प्रस्ताव दर्ता र पटकपटक सरकारको विरोध गरिएको भन्दै उपनेता र सचेतकलाई पदमुक्तसँगै ३० जना सांसदलाई २४ घन्टा अर्थात् १५ पुस बुधबारभित्र बुझाउने गरी स्पष्टीकरण सोधिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

आवश्यकताअनुसार अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने बाँकी १५ जनालाई पनि स्पष्टीकरण सोधिने मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले बताउनुभयाे । दाहालका अनुसार मुख्यमन्त्री पौडेलले नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐन तथा प्रचलित कानुनी व्यवस्था तथा संसदीय दलको विधानको अधीनमा रही उपनेता र सचेतकलाई पदमुक्तसँगै सांसदहरूलाई स्पष्टीकरण सोध्नुभएकाे हाे ।  

नेकपा संसदीय दलको विधान २०७५ को भाग ६, दफा २४ को (क), (ख), (ग), (च) र (छ) आकर्षित भई सोही विधानको दफा २६, उपदफा (३) को (क), (ख), (ग), (घ) र (ङ) बमोजिम पदमुक्त र स्पष्टीकरण सोधिएको मुख्यमन्त्रीको सचिवालयको दाबी छ । 

यता सत्तारुढ नेकपाका सांसद शालिकराम जमकट्टेलले आफूलाई संसदीय दलको उपनेताबाट पदमुक्त गराएकोबारे प्रतिक्रिया दिँदै मुख्यमन्त्री डोरमणि पौडेललाई ९ पुसमै संसदीय दलको नेताबाट पदमुक्त गराइसकेको बताउनुभयाे । उहाँले १० पुसमा मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नुअघि नै नेकपाका बहुमत सांसद ४५ जनाको उपस्थितिमा पौडेललाई संसदीय दलबाट हटाइएको उहाँको दाबी छ । ‘हाम्रो बहुमत सांसदको निर्णयबाट पौडेललाई संसदीय दलबाट हटाइसकिएको छ । अब अहिले उहाँले उपनेता र सचेतकलाई पदमुक्त गर्दै सांसदलाई स्पष्टीकरण सोध्नुको कुनै अर्थ नै छैन जब कि उहाँ नै संसदीय दलको नेता होइन,’ उहाँले भन्नुभयाे, ‘हामीले अष्टलक्ष्मी शाक्यलाई संसदीय दलको नेताका रूपमा चयन गरिसकेका छौँ ।’

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.