ईयूले भन्यो : नेपालको हवाई क्षेत्रमाथिको प्रतिबन्ध हटाउने प्रक्रिया सुरु भयो - pharaksandesh.com

मुख्य समाचार


Monday, 7 December 2020

ईयूले भन्यो : नेपालको हवाई क्षेत्रमाथिको प्रतिबन्ध हटाउने प्रक्रिया सुरु भयो


काठमाडाैँ, २२ मङ्सिर :
युरोपेली युनियन ईयूले नेपालको हवाई क्षेत्रमा लगाएको प्रतिबन्ध हटाउने प्रक्रिया सुरु भएको जनाएको छ । हवाई सुरक्षाको क्षेत्रमा नेपालले गरेका पछिल्ला सुधारको प्रशंसा गर्दै ईयूले यस्तो प्रतिबन्ध हटाउने प्रक्रिया सुरु भएको जनाएको हो ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको पूर्वसन्ध्यामा ईयूले विज्ञप्तिमार्फत हवाई सुरक्षाको क्षेत्रमा नेपालले बनाएको कानुन र व्यवहारमा देखिएको सुधारले गर्दा यहाँको हवाई क्षेत्रमाथि लगाएको प्रतिबन्ध हटाउने प्रक्रिया सुरु भएको जनाएको हो । यसको लागि तीन चरण पार गर्नुपर्नेछ । 

पहिलो चरण अन्तर्गत बेल्जियमको ब्रसेल्समा प्राविधिक कमिटिको बैठक हुनेछ ।

दोस्रो चरणमा युरोपेली युनियनको हवाई सुरक्षा एजेन्सीका विज्ञ तथा प्राविधिकले नेपालको भ्रमण गर्नेछन् । ईयूका सदस्य देशबाट हुने यो भ्रमणले नेपालले हवाई सुरक्षाको लागि ईयूका मापदण्ड पूरा गरे/नगरेको हेर्नेछन् । 

नेपालले गरेका प्रतिबद्धता कार्यान्वयनको अवस्था र स्थलगत अनुगमन टोलीको रिपोर्टका आधारमा तेस्रो चरणमा नेपालमाथिको प्रतिबन्ध हटाउने प्रस्ताव ईयूको हवाई सुरक्षाका समितिमा पेस हुनेछ ।

नेपालले हवाई सुरक्षामा लापर्बाही गरेको भन्दै युरोपेली युनियनले सन् २०१३ देखि नेपालको हवाई क्षेत्रलाई कालोसूचीमा राख्दै आएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.