काठमाडाैँ, ३ पुस : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यादेश फिर्ता नभए थप कदम अघि बढाउने बताउनुभएको छ ।
पेरिसडाँडामा आफूपक्षका नेताहरूको भेलामा अध्यक्ष प्रचण्डले अध्यादेश फिर्ता गर्ने सहमति शीर्ष तहमा भएर स्थायी कमिटीबाट निर्णय र निर्देशन भइसक्दा समेत ओलीले आलटाल गरिरहनुले गलत सन्देश गइरहेको बताउनुभयो ।
ओलीले पार्टी विभाजन गर्ने योजनासहित एकपछि अर्को कदम चालिरहेको भन्दै उहाँले तत्काल यसलाई नियन्त्रण नगरिए ठूलो दुर्घटनामा फस्ने बताउनुभयो । पेरिसडाँडा भेलामा कार्यकारी अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाललगायत नेताहरू सहभागी भएका थिए । अध्यादेश फिर्ता नभए विशेष अधिवेशनको माग फेरि ब्यूँतिने र संसद्बाटै निकास खोजिनुपर्ने प्रचण्ड–नेपाल निकट नेताहरूको भनाइ छ ।
गएको बुधबार बसेको नेकपा स्थायी कमिटी बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिन लगाउने र संसद्काे विशेष अधिवेशन बोलाउन राष्ट्रपति कार्यालयमा निवेदन दर्ता नगर्ने सहमति गरेको थियो ।
सहमतिको भोलिपल्ट नै प्रधानमन्त्री एवं अध्यक्ष ओलीले सहमति उल्लङ्घन गरेको प्रचण्ड–माधव नेपाल पक्षको आरोप छ । ओलीले अध्यादेश फिर्ता नहुँदै भोलिपल्ट अर्थात् बिहीबार (हिजो) संवैधानिक परिषद् बैठक बोलाउनु भएसँगै नेकपाभित्रको विवाद झनै पेचिलो बन्दै गएको छ ।
No comments:
Post a Comment