संविधानको पूर्ण पालन र संरक्षण अनिवार्यः उपराष्ट्रपति पुन - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 30 December 2020

संविधानको पूर्ण पालन र संरक्षण अनिवार्यः उपराष्ट्रपति पुन


काठमाडौँ, १५ पुस  :
उपराष्ट्रपति नन्दबहादुर पुनले देशमा विकसित पछिल्ला राजनीतिक तथा संवैधानिक घटनाक्रमले जनतामा नैराश्य छाएको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, “जनतामा नैराश्यता आउनु देशका लागि दुःखद् कुरा हो ।” ‘तमु (गुरुङ) समुदायको चाड तमु ल्होछार÷ल्होसार २०७७ को अवसरमा आज एक शुभकामना सन्देश दिनुहुँदै उपराष्ट्रपतिले गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाको रक्षाका लागि संविधानको पूर्णपालन र संरक्षण अनिवार्य रहेको बताउनुभएको छ । 

उहाँले संविधानको मर्म र भावनाको सम्मान गर्दै त्यसको पूर्णपालन, संरक्षण, राजनीतिक स्थायित्व र देश विकासका लागि जनतामा नयाँ आशा जगाउन सबै पक्ष उत्तिकै जिम्मेवार भएर लाग्नुपर्ने र उपलब्धिको रक्षार्थ जनताले पनि सचेततापूर्वक आफ्नो दायित्व पूरा गर्नुपर्ने उल्लेख गर्नुभएको छ । 

सन्देशमा भनिएको छ, “नेपाली जनताले सात दशक लामो सङ्घर्षपछि प्राप्त गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थालाई नयाँ संविधानले संस्थागत गरेपछि राजनीतिक स्थायित्व हासिल भएको र देश विकास, समृद्धिको मार्गमा दु्रत गतिमा अगाडि बढ्नेमा पूर्ण विश्वस्त छौँ ।”

बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधतायुक्त हाम्रो देश धर्मनिरपेक्ष राष्ट्र रहेको स्मरण गर्दै उहाँले अनेकौँ संस्कृति, सम्पदा, सभ्यता र समुदायको सुन्दर, सप्तरङ्गी सम्मिश्रण एवं साझा सङ्गमको रुपमा रहिआएको नेपाल सामाजिक सद्भाव र सौहार्दताका लागि संसारभर सुपरिचित रहेको उल्लेख गर्नुभएको छ । 

नेपालका सबै समुदायका आ–आफ्नै मौलिक पहिचानसहितका भाषा, धर्म, संस्कार, संस्कृति र धार्मिक एवं सांस्कृतिक चाडपर्व रहेको र विभिन्न समुदायमा मौलिकताका साथ मनाइने चाडपर्व नेपालीको साझा चाडपर्व भएको उहाँको भनाइ छ । पुराना वर्ग (वर्ष)को विदाइ र नयाँ वर्गलाई स्वागत गर्दै तमु (गुरुङ) समुदायले मनाउने तमु ल्होछार÷ल्होसार पनि फराकिलो हुँदै आमनेपालीको पर्वको रुपमा स्थापित हुँदै गएको उपराष्ट्रपतिले सन्देशमा उल्लेख गर्नुभएको छ । 

मुसा वर्गको बिदाइ र गाई वर्गको स्वागत गर्दै मनाइने यो वर्षको ल्होछार÷ल्होसार विश्वव्यापी महामारी कोभिड–१९ का कारण विगत वर्षजस्तो हर्षोल्लासका साथ सामूहिक रुपमा मनाउन सम्भव नभएपनि देश तथा विदेशमा रहनुभएका सम्पूर्ण तमु दिदीबहिनी तथा दाजुभाइले घरघरमा ल्होछार÷ल्होसार मनाउनु हुने विश्वास उपराष्ट्रपतिको छ । उहाँले तमु ल्होछार÷ल्होसारले संविधानको पालन, राजनीतिक स्थायित्व र मुलुकको समृद्धिका लागि सबैलाई प्रेरणा देओस् भन्दै शुभकामना व्यक्त गर्नुभएको छ ।(रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.