सर्लाही, १४ पुस : सर्लाही रामनगर-७ का धनकौल उखु किसान नारायणराय यादव र सरकारबीच सम्पन्न सम्झौता कार्यान्वयन हुन नपाउँदै किसान यादवको आज बिहान ११ बजे ज्यान गएकाे छ ।
सरकारले यादवको बक्यौता २४ लाख ६३ हजार रुपैयाँ आज मध्याह्न १२ बजे उपलब्ध गराउने सम्झौता गरेको थियो । यादवको बिहान ११ बजे नै ज्यान गएकाले आज वितरण गर्ने भनिएको पाँच करोड रुपैयाँ दिइएको छैन । यही पुस १३ गते उद्योग, वाणिज्य र आपूर्ति मन्त्रालय र उखु किसान सङ्घर्ष समितिबीच सम्झौता भएको थियो ।
सरकारले सम्झौता भएको मितिदेखि २१ दिनसम्ममा बक्यौता देखिएका किसानका ६५ करोड रुपैयाँ उपलब्ध गराउने सम्झौता गरेको थियो । किसानले भने आफूहरुको कुल बक्यौता ९५ करोड रुपैयाँ रहेको जिकिर गर्दै आएका छन् । बाँकी रकम उपलब्ध गराउनुपर्ने हो वा होइन भन्ने सन्दर्भमा सरकारले उद्योग, गृह, अर्थ र कृषि तथा पशुपन्छी मन्त्रालयका प्रतिनिधि रहने गरी एक छानबिन समिति गठन गरेको छ ।
उखु किसान सङ्घर्ष समितिका संरक्षक राकेश मिश्रले यादवको १४ लाख ऋण रहेको जनाउँदै यादवको परिवारलाई सरकारले उचित क्षतिपूर्ति नदिएसम्म दाहसंस्कार नहुने बताउनुभयो । गएकाे मङ्सिर २८ गतेदेखि उखु बिक्री गरेबापतको बक्यौता भुक्तानी नपाएसम्म घर नफर्कने भनी काठमाण्डौको माइतीघर मण्डलमा उखु किसान अनशन बस्दै आएका थिए ।
यादवको शहीद गङ्गालाल अस्पतालतमा हृदयाघात बन्द भएर ज्यान गएको थियो । सरकारले उद्योगीको राहदानी जफत, बैंक खाता सञ्चालन र सम्पत्ति बेचबिखनमा रोक एवं किसानलाई भुक्तानी दिन आलटाल गर्ने उद्योगी एवं सरोकार भएकाहरुलाई गिरफ्तार गर्ने सम्झौतामा भनिएको छ ।
३३ करोड रुपैयाँ बक्यौता भुक्तानी
उखु किसानको आन्दोलन सुरु भएपछि तीन चिनी मिलले ३३ करोड रुपैयाँ बक्यौता भुक्तानी गरेको उद्योग मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता नारायण रेग्मीका अनुसार श्रीराम, अन्नपूर्ण, इन्दिरा र लुम्बिनी चिनी मिलले बक्यौता रकम भुक्तानी सुरु गरिसकेका छन् । उहाँका अनुसार सोमबारसम्म श्रीराम सुगर मिलले २६ करोड ११ लाख रुपैयाँ, अन्नपूर्ण तथा इन्दिराले पाँच करोड २६ लाख र लुम्बिनी सुगर मिलले दुई करोड रुपैयाँ भुक्तानी गरिसकेका छन् ।
सबै चिनी मिलले बाँकी रकम २१ दिनभित्र भुक्तानी गरिसक्ने भनी सहमति गरिसकेका छन् । मन्त्रालयको तथ्याङ्कअनुसार श्रीराम सुगर मिलको ३५ करोड, लुम्बिनी सुगर मिलको आठ करोड ४१ लाख, इन्दिरा सुगर मिलको चार करोड ७० लाख र अन्नपूर्ण चिनी मिलको सत्र करोड रुपैयाँ बक्यौता छ ।

No comments:
Post a Comment