काठमाडाैँ, ५ माघ : पार्टीले राजधानीकेन्द्रित आन्दोलनको नयाँ कार्यक्रम घोषणा गरेपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्दोलन चर्काउन युवा–विद्यार्थीलाई निर्देशन दिनुभएकाे छ । जुझारु, आवेगमय आन्दोलनको अग्रपंक्तिमा रहेर आफू पनि पुलिसको लाठी खान तयार भएको भन्दै प्रचण्डले आन्दोलनलाई आक्रामक बनाउन निर्देशन दिनुभएकाे छ ।
‘हाम्रो आन्दोलन अब अलिकति आवेगमय हुनुपर्यो, अलिकति जुझारु हुनुपर्यो, अलि आक्रामक हुनुपर्यो । त्यो भिजिटारिएनजस्तो हुनुभएन, अलि आक्रामक सिंह गर्जिएजस्तो हुनुप¥यो । त्यसबाट प्रतिक्रान्तिकारीको मुटु हल्लिनुपर्यो । यस्तो आन्दोलन चाहिएको छ,’ अनेरास्ववियुको उपत्यकास्तरीय भेलामा आइतबार प्रचण्डले भन्नुभयाे, ‘मैले अहिले युवाहरूलाई पनि भनेँ– तपाईंहरू आक्रामक ढंगले आउन जरुरी छ । तर, त्यसो भनेर हामी बुढाहरू बुढा भएका छैनौँ, अग्रपंक्तिमा हामी नै हुन्छौँ र हिजो गिरिजाबाबु अथवा माधव, झलनाथजीले लाठी खाएजस्तो मलाई किन हो खै टाउको चिलाएको छ, लाठी खान मन छ योपटक । लाठी हानेको हेर्न मन लागेको छ ।’
अदालत र निर्वाचन आयोगप्रति भरोसा छ, तर सेटिङ शब्द रहस्यमय
प्रचण्डले निर्वाचन आयोग र सर्वोच्च अदालतले निष्पक्ष काम गर्नेमा पूर्ण भरोसा भए पनि प्रधानमन्त्री केपी ओली र उहाँनिकट व्यक्तिहरूको सेटिङ शब्दले पर्याप्त शंका जन्माएकाले विरोध गर्नुपर्ने अवस्था रहेको बताउनुभयाे ।
‘देशमा डरलाग्दो षड्यन्त्र भइरहेको छ, निरंकुशताको ठाउँमा पुर्याउने र देशलाई अँध्यारो सुरुङमा धकेल्ने षड्यन्त्र भइरहेको छ । सेटिङ भएको छ भनेर केपी र उनका मान्छेले भन्दै हिँडेका छन्, हुँदाहुँदा अदालतलाई पोलिटिकल डिसिजन गर्नुपर्छ भनेका छन्, निर्वाचन आयोगलाई पनि भनेका छन्, हामीले त अदालतलाई भरोसा गरेका छौँ, हामी शंका गर्न चाहँदैनौँ, तर सेटिङ शब्दभित्र के रहस्य हो भन्नेचाहिँ लागेको छ,’ प्रचण्डले भन्नुभयाे, ‘तर, तिनको सेटिङलाई शंका गर्न त पाइयो नि ! तर, केपीका मान्छेले सेटिङ भइरहेको छ भन्नेको त शंका गर्न, विरोध गर्न त पाइयो नि !’
मलामी जाने वेला केपी ओली हाँस्दै हिँडे
संसद् विघटनका कारण देश र जनता रोइरहेका वेला प्रधानमन्त्री ओली भने कमेडियन बनेर हाँस्दै हिँडेको प्रचण्डको आरोप छ । ‘तपाईं–हामी लाखौँको संख्यामा सडकमा पोखिँदा केपी ओली गणतन्त्र आउनुहुँदैन भनेर रुँदै हुनुहुन्थ्यो । आज उहाँले हामीले यति संघर्षबाट बनाएको संविधान र गणतन्त्रमाथि निरंकुशताको बुट बजार्नुभएको छ र हाँस्दै हिँड्नुभएको छ, कमेडी देखाउँदै हिँड्नुभएको छ । केपी ओली मलामी जाने वेलामा हाँस्दै हिँड्नुभएको छ,’ प्रचण्डले भन्नुभयाे, ‘यस्तो मान्छेलाई स्वाभाविक मान्छे भन्न सकिन्छ ? तपाईंले कति हसाउन सक्नुहुन्छ पीर छैन, तर देश रोएको वेला हाँसेको देख्दा आक्रोश आएको हो । देश, जनता पीडामा छन्, कोही संसद् विघटनका पक्षमा छैनन् ।’

No comments:
Post a Comment