काठमाडाैँ, ४ माघ : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सीमाका विषयमा नेपाल र भारतबीच सहमति नभएको बताउनुभएकाे छ । भारत भ्रमणबाट शनिबार स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै ज्ञवालीले समस्या छिटो समाधान गर्नुपर्छ भन्नेमा नेपाल–भारत संयुक्त आयोगको बैठकमा छलफल भएको बताउनुभयाे ।
‘भारतको पोजिसन (अडान) थाहै छ । हामी सहमतिमा पुगेका छैनौँ। समस्या छिटो समाधान गर्नुपर्छ भन्नेमा हामी पुगेका छौँ’ ज्ञवालीले भन्नुभयाे, ‘सीमाका बाँकी काम गर्दै जानेछौँ । राजनीतिक तहमा कुरा गर्दै जान्छौँ, अन्य तहमा पनि छलफल हुँदै जान्छ ।’
मन्त्री ज्ञवालीले नेपाल–भारत मित्रताबारे व्यापक समीक्षा भएको बताउनुभयाे । उहाँको भनाइ थियो, ‘बाँकी विषय समाधानबारे बैठकमा छलफल भएको छ ।’ ज्ञवाली बिहीबार भारत भ्रमणमा जानुभएकाे थियाे । उहाँले समकक्षी डा. एस जयशंकरसँग शुक्रबार भेटवार्ता गर्नुभयाे । शुक्रबारै नेपाल–भारत संयुक्त आयोगको बैठकमा उहाँ सहभागी भए भने शनिबार स्वदेश फर्किनुअघि उहाँले भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गर्नुभयाे । उहाँले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भने भेट्नु भएन ।
मन्त्री ज्ञवालीले कोरोनाविरुद्धको खोपमा भारतले नेपाललाई प्राथमिकतामा राखेको पनि बताउनुभयाे । ज्ञवालीले कोभिड १९ को भ्याक्सिनको आवश्यकता पूर्ति गर्नेबारेमा भारतसँग छलफल भएको तथा भारतले नेपाललाई प्राथमिकतामा राखेको स्पष्ट पारेको बताउनुभएकाे हाे ।
कोभिडका कारण बन्द रहेका हवाई तथा स्थलमार्गहरू क्रमशः खोल्दै जाने, हुलाकी सडकअन्तर्गतको १४ खण्डमध्ये सम्पन्न भइसकेको ११ खण्ड हस्तान्तरण प्रक्रिया अगाडि बढाउने र बाँकी खण्ड छिट्टै सक्नेबारे कुराकानी भएको उहाँले बताउनुभयाे ।

No comments:
Post a Comment