चुनावमा कांग्रेसलाई फाइदा हुन्छ भन्दैमा देश अपहरण गर्न दिँदैनाैँ : प्रदीप पाैडैल - pharaksandesh.com

मुख्य समाचार


Friday, 15 January 2021

चुनावमा कांग्रेसलाई फाइदा हुन्छ भन्दैमा देश अपहरण गर्न दिँदैनाैँ : प्रदीप पाैडैल


रुकुम पश्चिम, २ माघ: 
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले संविधान विपरीतको चुनाव कांग्रेसलाई स्वीकार्य नहुने बताउनुभएको छ । ‘देशमा कांग्रेसका लागि चुनाव हुनु लाभदायी छ भन्ने बुझेका छौँ’, पौडेलेले भन्नुभयो, ‘कांग्रेसका लागि फाइदा हुन्छ भन्दैमा देशलाई अपहरण गर्न दिँदैनौँ ।’

रुकुम पश्चिमको चौरजहारीमा आयोजित एक कार्यक्रममा बोल्दै युवा नेता पौडेलले आफ्नै पार्टीले प्रधानमन्त्रीको विकल्प खोजेको थाहा पाएपछि प्रतिनिधि सभा विघटन गरेको तर प्रधानमन्त्रीलाई विघटनको अधिकार नभएको उल्लेख गर्नुभयो । माधव र प्रचण्डले सताउनु भयो भन्दैमा नेपाली नागरिकको प्रतिनिधि संस्थालाई पङ्गु बनाउन नमिल्ने उहाँले बताउनुभयो । 

तत्कालीन रुकुम (अहिले पूर्व–पश्चिम) का जिल्ला विकास समिति सभापति तथा नेपाली कांग्रेसका नेता हरिभक्त ओलीको २२ औँ स्मृति दिवसका अवसरमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै पौडेलले दुई तिहाइको वर्तमान सरकारको हबिगत देखेर नागरिक वाक्क भएको बताउनुभयो । कम्युनिस्टले सरकारको नाममा ज्यादती, भ्रष्टाचारमात्र गरेको भन्दै उहाँले लोकतन्त्रका लागि नेपाली कांग्रेसको जति योगदान अरुले नगरेको र पञ्च, मण्डले, अतिवादीहरूलाई लोकतन्त्रमा ल्याउने काम पनि आफ्नो पार्टीले गरेको दाबी गर्नुभयो । 

अहिलेको सरकारले हावा कुरा गर्ने र पूरा नहुने सपना बाँडेर नागरिकलाई झुक्काएको आरोप लगाउनुभयो । 

कामचलाउ प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्नु थप लाजमर्दो कार्य भएको भन्दै नागरिकका लागि भन्दा पनि कम्युनिस्ट सरकार आफ्नै भरणपोषणको लागि आन्तरिक किचलोमा फसेको उहाँले जनाउनुभयो । अख्तियारमै आरोपको फाइल भएको मान्छेलाई अख्तियार प्रमुख बनाउनुको अर्थ अख्यिारलाई गोटी बनाउन खोजेको नेता पौडेलले बताउनुभयो ।

वर्तमान सरकार सुन काण्डका नाइके, बलात्कारी र हत्यारा, सोती घटनाका पीडक, ७० करोड बार्गेनिङ, स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचारका नाइकेहरूको संरक्षक भएको आरोप उहाँको छ । 

कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी सङ्घकी महामन्त्री उर्मिला थपलियाले वर्तमान सरकार नागरिककाे नभइ क्रुर शासकको हातमा रहेको बताउनुभयो । 

तत्कालीन माओवादीले तत्कालीन जिल्ला विकास समिति रुकुमका सभापति तथा नेपाली कांग्रेसका नेता हरिभक्त ओलीको २०५५ माघ १ गते फरक आस्थाकै कारण हत्या गरिएको थियो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.