अमेरिका, २१ पुस : अमेरिकाका सामान्य राजनीतिमा चाख राख्ने अमेरिकीको आँखा यतिखेर जर्जियामा पुगेको छ । अमेरिकाको माथिल्लो सदन सिनेटमा आफ्नो प्रभुत्व जमाउन डेमोक्रेटिक पार्टी र रिपब्लिकन पार्टीका नेताहरु जर्जियामा मंगलवार हुने पुनःनिर्वाचनमा जोडतोडका साथ लागिरहनु भएको छ । नेपाली समय अनुसार आज राति मतदानस्थलमा उपस्थित भएर मतदान गर्दैछन् ।अमेरिकी समय अनुसार सोमवार राति अबेरसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र माइक पेन्स तथा राष्ट्रपतिमा निर्वाचित जो वाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारि सलगायत दुवै पार्टीका शीर्ष नेताहरु निर्वाचन क्षेत्रमा र्याली र सभालाई सम्वोधन गर्न व्यस्त हुनुहुन्छ । दुवै पार्टीका लागि यी दुईक्षेत्र गर या मरको स्थितिमा रहेका छन् । शीर्ष नेताहरुले आआफ्ना पार्टीका उम्मेदवारलाई विजयी गराउन आव्हान गर्नुभएको छ ।
जर्जियामा आज दुईवटा सिनेटरको छुट्टाछुट्टै पुनःनिर्वाचन हुने भएको छ । गत नोभेम्वर ३ मा सम्पन्न निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत नल्याएको कारण यो पुनःनिर्वाचन हुन लागेको हो । जर्जियाको कानुन अनुसार, निर्वाचनमा विजयी हुनका लागि कुनै पनि उम्मेदवारलाई ५० प्रतिशत मत आवश्यक पर्छ । कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत प्राप्त नगरेको खण्डमा उच्च दुई स्थान प्राप्त गर्ने उम्मेदवारबीच पुनःनिर्वाचन गर्नुपर्ने व्यवस्था अनुसार यो निर्वाचन हुनलागेको हो । पुनः मतदान हुनलागेको अमेरिकामा यो एउटा राज्यमात्र अपवाद हो ।
जर्जियामा डिसेम्बर १४ देखि जनवरी १ सम्म अग्रिम मतदानको प्रावधान राखिएको कारण हालसम्म तीस लाखभन्दा बढी मतदाताले आफ्नो मताधिकार उपयोग गरिसकेका छन् । यो संख्या विगतका भन्दा निकै बढी हो । मंगलवार करिब ११ लाख मतदाताले बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मतदान स्थलमा उपस्थित भएर मतदान गर्ने अनुमान गरिएको छ । विभिन्न मत सर्वेक्षणले दुवै उम्मेदवारबीच कडा टक्कर हुने अनुमान गरेका छन् ।
सिनेटमाथिको आधिपत्य
दुवै पार्टीका लागि जर्जियाको निर्वाचन अत्यन्त महत्वपूर्ण मानिएको छ । अमेरिकाको दुइ सदनमध्ये तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा कुल ४३५ सिटमध्ये डेमोक्रेटिक पार्टीको २३२ सिटसहित स्पष्ट बहुमत छ र माथिल्लो सदनमा पनि ऊ बहुमत पुर्याएर अमेरिकाको आन्तरिक तथा बह्य राजनीतिमा समेत आफ्नो आधिपत्य कायम राख्न चाहन्छ भने तल्लो सदनमा वहुमत गुमाएको रिपब्लिकन पार्टी चाहिँ कम्तिमा पनि माथिल्लो सदन सिनेटमा वर्चस्व कायम राख्नसके डेमोक्रेटिक पार्टी तथा राष्ट्रपतिको अधिकार र उनका एजेण्डालाई असफल बनाउन सकिन्थ्यो भन्ने चाहनामा छ । त्यसैले जर्जियाको निर्वाचन अमेरिकी राजनीतिक इतिहासको एक संगीन घडीमा उभिएको छ ।
हाल कुल एक सय सिनेटमा रिपब्लिकन पार्टीको ५० सिट सुरक्षित भइसकेको छ भने डेमोक्रेटिक पार्टीको ४८ सिट सुरक्षित छ । त्यसैले माथिल्लो सदनमा आफ्नो बहुमत पुर्याउन जर्जियाका दुवै सिट डेमोक्रेटिक पार्टीले कब्जा जमाउनुपर्नेछ । दुवै सिट डेमोक्रेटिक पार्टीले जित्यो भने दुवैको समान ५० सिट हुन्छ र उपराष्ट्रपतिले छिनोफानोको निर्णायक मत दिन पाउने कानुनी व्यवस्था भएकोले कुनै नीति नियम र आफ्ना एजेण्डा र कार्यक्रम जनता माझ लैजानका लागि राष्ट्रपतिमा निर्वाचित जो वाइडेनलाई सहज हुनेछ । जर्जियाका दुवै उम्मेदवारले जितेको खण्डमा वाइडेनले मूलतः कोरोना महाव्याधी, जनस्वास्थ्य, कर, ऊर्जा र वातावरणका बारेमा आफ्ना एजेण्डाहरु प्रस्तुत गर्नुहुनेछ ।
गत नोभेम्वर ३ मा सम्पन्न निर्वाचनमा वाइडेनले जर्जियामा ट्रम्पभन्दा करिब १२ हजार मत धेरै पाउनुभएको थियो भने जर्जियाका ७० वर्षीय रिपब्लिकन सिनेटर तथा उम्मेदवार डेभिड पुर्डेले डेमोक्रेटिक पार्टीका डकुमेन्ट्री फिल्मनिर्माता आफ्ना प्रतिस्पर्धी ३३ वर्षीय जोन ओसोफभन्दा करिब ८७ हजार मत बढी अर्थात् ४९.७ प्रतिशत मत पाउनुभएको थियो । उता रिपब्लिकनकी ५० वर्षीया अर्की उम्मेदवार सिनेटर केलीलियोफलेर र एउटा चर्चका वरिष्ठ पादरी डेमोक्रेटिक पार्टीका उम्मेदवार ५१ वर्षीय रेभरेण्ड राफेल वारनकबीच कडा टक्कर छ । केलीज र्जियाकी धनी व्यक्तिको सूचीमा पर्नुभएको छ । यी दुईको प्रतिस्पर्धामा वारनकले लियोफनेरभन्दा करिब ७ प्रतिशत मतले अग्रता हासिल गर्नुभएको थियो ।
रुढीवादी राज्य जर्जियामा सन् १९९२ देखि नै रिपब्लिकन पार्टीका उम्मेदवारले विजय प्राप्त गर्दै आएकाले दुवै सिनेट डेमोक्रेटिक पार्टीको पोल्टामा जाने कुरामा जर्जियाका मतदाताहरुको रतिभर विश्वास छैन ।
No comments:
Post a Comment