सप्तरीमा करेन्ट लागेर हात्तीको मृत्यु - pharaksandesh.com

मुख्य समाचार


Saturday, 9 January 2021

सप्तरीमा करेन्ट लागेर हात्तीको मृत्यु


सप्तरी, २५ पुस :
सप्तरीको खडक नगरपालिका-४ अमहा गाउँ नजिकै जंगली हात्तीको करेन्ट लागेर मृत्यु भएको छ । जंगली बँदेलले बालिनाली खाइदिन थालेको भन्दै गहुँबाली जोगाउन तारको घेरामा छोडेको विद्युतीय करेन्ट लागेर शुक्रबार राती जंगली भाले हात्ती मरेको डिभिजन वन कार्यालय सप्तरीले जानकारी दिएको छ ।

जंगली बँदेलको समूहले गहुँबाली खाइदिन थालेपछि खेत वरिपरि मसिनो फलामे तारको घेरा हालेर करेन्ट प्रवाह गरेकाले त्यसमा परेर गएराती करिब सवा १० बजेतिर हात्ती मरेको हो। 

‘जंगली बँदेल, निलगाई जस्ता जनावरले खेतबारीमा लगाएको बालीनाली खाएर नष्ट नगरिदिन थालेपछि तारको घेरा हालेर करेन्ट प्रवाह गरिएको थियो’ स्थानीय किसानले भने ‘त्यसमा परेर जंगली हात्ती मरेछ ।’ मरेको हात्ती हेर्न शनिबार बिहानदेखि नै स्थानीय गाउँलेको भिड लागेको छ ।

इलाका प्रहरी कार्यालय कडरबोना र नेपाली सेनाको टोलीले घटनास्थल घेरा हालेर राखेको छ । सप्तरीको राजविराजस्थित डिभिजन वन कार्यालयका वन अधिकृत सन्तोष झासहितको टोली हात्ती मरेको खवर पाएपछि शनिबार बिहानै घटनास्थल आएका छन् । घटनास्थलको प्रकृति र मुचुल्का उठाएपछि पशु चिकित्सकमार्फत् पोष्टमार्टम गरी त्यहीँ खाल्डो खनेर हात्तीलाई गाडिने डिभिजन वन अधिकृत झाले बताउनुभयाे ।

‘जिल्लास्थित भेटेरिनरी कार्यालयमा हात्तीको पोष्टमार्टमका लागि पत्रचार गरिएको छ’ उहाँले भन्नुभयाे, ‘आज शनिबार भएकाले पोष्टमार्टम नहुन पनि सक्छ तर सुनसरीको कोशी टप्पु वन्य जन्तु आरक्षमा पनि आवश्यक सहयोगका लागि पत्राचार गरेको छु ।’ पशु चिकित्सकको टोली आएपछि आवश्यक प्रकृया पूरा गरी पोष्टमार्टमपछि त्यहीँ खाल्डो खनेर मृत हात्तीलाई गाड्ने तयारी गरिएको झाले जानकारी दिनुभयाे । 

गत मंसिरको पहिलो सातादेखि सप्तरीको पश्चिम उत्तरी भेगका गाउँ बस्तीमा पाँच वटा जंगली हात्तीको समूहले आतंक मच्चाउँदै आएको छ । मरेको हात्ती त्यही मध्येको हुन सक्ने अनुमान गरिएको छ । 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.