प्रदेश १ को प्रदेशसभा बैठक अनिश्‍चितकालका लागि स्थगित - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 20 January 2021

प्रदेश १ को प्रदेशसभा बैठक अनिश्‍चितकालका लागि स्थगित


विराटनगर, ७ माघ :
प्रदेश १ को प्रदेशसभाको बुधबार सुरु भएको हिउँदे तथा सातौं अधिवेशन २ मिनेट बसेर अनिश्चितकालका लागि स्थगित भएको छ । 

सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुख सोमनाथ अधिकारीले बैठक आह्वानका लागि पठाएको पत्र सुनाएलगत्तै प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको हो । दिउँसो २ बजे ११ मिनेटमा सुरु भएको बैठक सभामुख भण्डारीले पत्र सुनाएर स्थगित गरेका हुन् । बैठक १ मिनेट १९ सेकन्ड बसेर सकिएको प्रदेश सचिवालयले जनाएको छ । बैठकमा सबै पार्टीका सांसद्हरुको उपस्थित भए पनि प्रदेशसभामा कुनै कारबाही अगाडि बढ्न पाएन ।

बुधबारको बैठकमा मुख्यमन्त्री शेरधन राईको समूहले नेकपा दाहाल–नेपाल समूहलाई प्रवेश गर्न नदिने तयारी गरेको थियो । नेकपा संसदीय दल नेतासमेत रहेका राईले संसदीय दलको गतिविधिमा तीन महिनाका लागि निलम्बन गरेका १६ सांसदलाई प्रदेशसभामा प्रवेश गराइए बैठक चल्न नदिने उक्त समूहले जनाउँदै आएको थियो ।

दाहाल–नेपाल समूहले मुख्यमन्त्री राईविरुद्ध पुस १२ गते ३७ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएको थियो । हस्ताक्षर गरेका १६ जना प्रदेशसभा सदस्यलाई कुनै पनि संसदीय गतिविधिमा भाग लिन नपाउने गरी राईले निलम्बन गरेका थिए ।


दाहाल–नेपाल समूहले भने मुख्यमन्त्री राईलाई दलको नेताबाट हटाएर भीमप्रसाद आचार्यलाई निर्वाचित गरेको छ । आचार्यले मुख्यमन्त्री राईसहित आठ जना प्रदेशसभा सदस्यलाई कुनै पनि संसदीय गतिविधिमा भाग लिन नपाउने गरी तीन महिना निलम्बन पनि गरेका छन् ।

प्रदेशसभा दुवै समूहले एक अर्कालाई निषेध गर्ने रणनीतिमा लागेकाले बैठक स्थगित गरिएको बताइएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.