काठमाडाैँ, ९ माघ : एनसेलले वन तथा भू–संरक्षण विभागसँगको सहकार्यमा कोटेश्वरदेखि कलंकी सडकखण्डको ग्रीनबेल्ट क्षेत्रमा हरियाली निर्माण तथा संरक्षण गर्ने भएको छ ।
करिब १०.२ किलोमिटर दूरी रहेको यस सडकखण्डको हरियाली विकास तथा संरक्षण गर्दै एनसेलले वातावरण संरक्षणमा योगदान पुर्याउने उद्देश्य लिएको हाे ।
एनसेलले यसअघि नै एकान्तकुनादेखि बल्खु सडकखण्डका ग्रीनबेल्ट क्षेत्रमा नमुनाका रुपमा हरियाली निर्माण गर्ने कार्य सम्पन्न गरिसकेको छ ।
ग्रीनबेल्ट क्षेत्रलाई एक उदाहरणीय हरित क्षेत्रको रुपमा विकास गरी यसको संरक्षण गर्ने उद्देश्य एनसेलले लिएको छ । यसअघि एनसेलले कोटेश्वरदेखि कलंकी सडकखण्डमा वृक्षारोपणका लागि सहयोग गरेको थियो ।
हरियाली विकासका साथै एनसेलले पाँच वर्षसम्म यो खण्डमा रहेका ६,००० भन्दा बढी रुखविरुवाको हेरचाह गर्दै ग्रीनबेल्टको संरक्षणको काम गर्ने भएको छ ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले सार्वजनिक तथा निजी क्षेत्रको सहकार्यमा प्रभावकारी काम गर्न सकिने बताउनु भएको छ ।
वन तथा भू–संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले वृक्षारोपण गर्दै हरियाली बढाउने सरकारको अभियानअन्तर्गत रिङरोड ग्रीनबेल्ट योजना कार्यान्वयनका लागि दुई महानगरपालिकासँग समन्वयका साथै एनसेलसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।
ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले पनि यस योजनाले हाम्रो हरियाली विकास तथा वातावरण संरक्षण सम्बन्धी ग्रीन एन्ड ब्लु क्याम्पेनमा ठूलो योगदान दिने बताउनु भएको छ।

No comments:
Post a Comment