ऊर्जामन्त्रीद्वारा तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण - pharaksandesh.com

मुख्य समाचार


Monday, 11 January 2021

ऊर्जामन्त्रीद्वारा तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण


काठमाडाैँ, २७ पुस :
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले तनहुँको ऋषिङ गाउँपालिका-१ झापुटारमा रहेकाे निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको आज स्थलगत अवलोकन तथा निरीक्षण गर्नुभएको छ । 

यस अवसरमा तनहुँ हाइड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक प्रदीप थिके र आयोजना प्रमुख अच्युत घिमिरेले आयोजनाको अहिलेसम्मको प्रगति र गतिविधिबारे मन्त्री रायमाझीलाई जानकारी गराउनुभयो । आयोजनाको प्याकेज-२ अन्तर्गत सिनो हाइड्रो कम्पनीले निर्माण गरिरहेको विद्युतगृह, मुख्य प्रवेश सुरुङ, सर्ज ट्याक जाने सुरुङ, बाँधस्थल जाने सुरुङ खन्ने कार्य जारीे छ । 

आयोजना प्रमुख घिमिरेकाअनुसार प्याकेज-२अन्तर्गत सिनोले क्याम्प, ब्याचिङ तथा क्रसिङ प्लाण्ट, ल्याब, क्लिनिक, स्टोर, उपकरणकक्ष आदि पूर्वाधारको स्थापना, केबल सुरुङ, विद्युतगृहको पाइलट सुरुङ, पहुँच सडक खन्ने कार्य सम्पन्न गरेको छ । 

प्याकेज-३ अन्तर्गत प्रशारण लाइन निर्माणका काम बारेमासमेत मन्त्री रायमाझीलाई जानकारी गराइएको छ । केईसी इन्टरनेशनलले प्रशारण लाइन निर्माणका लागि काम गरिरहेको छ । त्यस्तै प्याकेज एक निर्माणका लागि नियुक्त ठेकेदारसँगको ठेक्का रद्द गरी पुनः दुई पटक बोलपत्र आह्वान गर्नु परेकाले निर्माणमा ढिलाइ भएको बताइएको छ । 

निरीक्षणका क्रममा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ, राष्ट्रियसभा सदस्य भगवती न्यौपाने र विघटित प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठलगायतको सहभागिता थियो ।

आयोजनाका लागि १४० मिटर बाँध, एक हजार १६२ मिटर र ७४ मिटरको मुख्य सुरुङ तथा ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ४४ मिटर उचाइ भएको भूमिगत विद्युतगृह निर्माण गरिनेछ । खुद उचाइ १२१ मिटर रहने आयोजनाबाट सुख्खायाममा १७८.९० मेगावाट र वर्षायाममा ३२३.६८ मेगावाट ऊर्जा उत्पादन हुनेछ । 

आयोजनाको कुल लागत ५०५ मिलियन अमेरिकी डलर (प्रशारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याज समेत) रहेको छ । जाइकाले दोस्रो प्याकेज अन्तर्गतका कामका लागि १८४ मिलियन डलर रुपैयाँ बेहोर्ने छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.