सागका लागि बीच भलिबलको मैदान निर्माण - pharaksandesh.com

मुख्य समाचार


Sunday, 20 October 2019

सागका लागि बीच भलिबलको मैदान निर्माण

कास्की, ३ कात्तिक : नेपालमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत बीच भलिबल खेलका लागि मैदान निर्माण गर्न थालिएको छ । आगामी मङ्सिर १५ गतेदेखि आयोजना हुने सो प्रतियोगितालाई लक्ष गरेर यहाँ बीच भलिबल खेलको पूर्वाधार निर्माण थालिएको हो । सागअन्तर्गत बीच भलिबलसहित नौ खेल पोखरामै खेलाइने भएको छ ।

बीच भलिबलको हाल भइरहेको एक कोर्टलाई स्तरोन्नति तथा थप तीन नयाँ कोर्ट निर्माण गरिने योजना छ । त्यसैगरी महिला तथा पुरुषको छुट्टाछुट्टै चेञ्जिङ रुम, बत्तीलगायत अन्य पूर्वाधारसमेत निर्माण गरिने बताइएको छ । फेवाताल किनार बाराहीघाटस्थित नेपाल ट्रष्टको स्वामित्वमा रहेको जग्गामा दुई सातामै आवश्यक सबै पूर्वाधार निर्माण गरी काम शुरु गरिएको राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्य राजेश गुरुङले बताउनुभयो ।

सो कार्यका लागि राखेपबाट रु ५२ लाख विनियोजन भएपछि उपभोक्ता समितिमार्फत काम शुरु गरिएको उहाँको भनाइ थियो । नयाँ कोर्ट निर्माणका लागि जमीनको खाल्डाखुल्डी पुर्न करीब पाँच हजार ५०० घनमिटर माटो आवश्यक पर्ने भएकाले आजदेखि पाँच ट्रिपरबाट फेवाताल सफाइअन्तर्गत निकालिएको माटो ओसार्न शुरु गरिएको जिल्ला भलिबल सङ्घका अध्यक्ष भीम पराजुलीले बताउनुभयो । मैदानमा माटो भरेपछि डेढ फिट बालुवा हालेर निर्धारित समयमै मैदान तयार गरिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । सागका लागि नेपाली राष्ट्रिय भलिबल टोली एक सातापछि बन्द प्रशिक्षणका लागि पोखरा आउने सदस्य गुरुङले जानकारी दिनुभयो । नेपाली टोलीमा महिला तथा पुरुष चार÷चार गरी आठ जनाको सहभागिता रहेको छ ।(रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.