कविता
![]() |
| अम्बिका अर्याल |
आमा, म तिमी रोएकाे हेर्न सक्दिन,
तर ऊ मेरै निक आइसक्याे,
ऊ तेरै पालाे भन्दै मलाई लुछ्ने दाउमा छ
मलाई बचाउन कोही आउनेछैनन्
मेरै भन्नेहरू पनि
उसको घाेषित निर्णय डरलाग्दो छ
मेरा छायाँमा पर्ने जति
उसका सिकार पक्का छन् आमा
तिमी पनि नआउनू है,
यसले मेरो सर्वस्व भनेर
तिमी जति शरण परे पनि
चिन्नेछैन तिम्रो त्याग
तिम्रो ममता
तिम्राे काेखकाे मूल्य
तिम्रो आँशुमा लुकेका मातृत्वकाे आगाेले
न ऊ डराउनेछ
न पग्लनेछ ढुङ्गे हृदय
ती लालाबाला छाेराछाेरीलाई
ललीपप दिन नपाउँदै
झाेलामै पग्लिएर महाकाली बग्याे
प्यारीलाई छमछम बज्ने पाउजू लाउनै नपाई
बहिनीलाई गेरु रङकाे कुर्ताकाे धाेकाे थमाउनै नपाई
बन्दीकाे जीवनमा कोचिएँ आमा
बुबालाई कट्टु फेराएर, चप्पल पहिराएर
राम्रो फाेटाे खिच्ने मनथ्याे आफैँसँग उभ्याएर
अाकाशमा उडेका बेलुनका पछिल्तिर
कान्लैकान्ला केटाकेटीसँगै दाैडने धोकाे थियाे आमा
मेरी उनीकाे चुल्ठो खेलाएर
घाँसकाे भारिमाथि थकान बिसाउँदै
परदेशका कथा सुनाउने रहर पनि कम्ता थिएन आमा
तर, अहँ, म थाकेँ
उठ्नै नसक्ने गरी पछारिएँ
हाे नाका कट्नै नपाई
ममताले जन्भूमि मुसार्न पनि नपाई
उसैले जित्ने भाे लडाइँ
यी नीला भेषका भिड्न खाेज्दै थिए
मेराे साथ दिन प्रयत्न गर्दै थिए
तर ऊ देखेपछि
भागे कुलेलाम
उनका हतियार बेकामे भैसके
डरले हाेस उडेपछि दिमाग कहाँ रहन्छ र?
संसार मुठीमा लिनेलाई
यसले निमाेठेर सिद्याउन लागिसक्यो
आमा
आजदेखि त लठ्ठीमा बाँधेर
पर ढाेकाबाट लम्काएर दिएका
एक पुरिया बिस्कुट
निस्तै खाएर बाँचिरहेछु
मेरी उनीलाई नभन्नु है
तर मलाई एउटै डर छ
मलाई खाने गिद्धहरूलाई
कसैले राेके हुन्थ्याे
स्यालहरूलाई छेके हुन्थ्याे
तर आमा
म जाँदैछु भन्ने खबर
कसैले हजुरलाई नदिए हुन्थ्याे
मेराे याे कागजी खाेस्टाे
यतिकै कतै हराअाेस्
नाम र ठेगाना बाेकेर
खल्तीमा राखेकाे याे कागज
याे भीडमा कसैले खाेज्ने छैनन्
उसले खाेज्नेलाई नछाड्ने निधाे गरिसकेकाे छ आमा
दुनियाँले जितेपछि उसलाई
रूप बदलेर ऊ
आफैँ काेर्न सीमारेखाहरू
आफैँ सिर्जेर नयाँ विश्व
अब भाग्य उसैले लेख्नेछ धर्तीकाे
खाेस्नेछ, लुछ्नेछ
सबैका रहरहरू
त्यसैले त आमा
चिन्ता हैन चिन्तन हैन
केवल हृदयले बाेल्नुछ
भन्दाभन्दै सबै छाेड्नुछ
अब उसैसँग यात्रा माेेड्नुछ
याे जुनी यतिमै छाेड्नुछ
समयले बताउनेछ, भुलाउनेछ,
हजुरका पीडा, लालाबालाका रहर, उनका बेचैनी
म हारेर उसले जिते पनि
तर मेरी उनीलाई नभन्नु है आमा

No comments:
Post a Comment