लकडाउनमा तस्करको निशानामा वन - pharaksandesh.com

मुख्य समाचार


Friday, 1 May 2020

लकडाउनमा तस्करको निशानामा वन

– नारायण अधिकारी 
चितवन, १९ वैशाख : लकडाउनको समयमा वन क्षेत्रमा तस्करी बढेसँगै गस्तीलाई तीव्र पारिएको छ । हिँडडुल गर्न नपाउने भएपछि वन क्षेत्रमा अवैधरूपमा छिर्नेहरुको सङ्ख्या बढ्दै गएको डिभिजन वन कार्यालय चितवनले जनाएको छ । 

लकडाउनको समयमा शहरबाट गाउँ आएकाहरु घाँस दाउरा गर्न वन क्षेत्र जाने र उनीहरुसँगै तस्करहरु पनि पस्ने भएकाले नियमित गस्तीसँगै टूर गस्तीसमेत शुरु गरिएको हो । कार्यालयका प्रमुख पदमराज नेपालका अनुसार कर्मचारीले नियमितरूपमा वनभित्रको विभिन्न क्षेत्रमा गरिने गस्ती (टूर गस्ती) लाई तीव्र बनाइएको छ । तस्करी गरेको जानकारी भएसँगै तत्काल पुग्ने गरी कार्यालयमा कर्मचारी तयारी अवस्थामा राखिएको नेपालको भनाइ छ ।

वन पैदावर कटानी, चोरी निकासी, वन्यजन्तुको शिकार हुने क्रम बढ्न थालेपछि वन क्षेत्रमा निगरानी बढाइएको हो । स्थानीय प्रशासन, जनपथ प्रहरी, सशस्त्र प्रहरी बलको सहयोगसमेत लिँदै गस्तीलाई बलियो बनाइएको छ । वन उपभोक्ता समूह र वन समूहलाई समेत चनाखो रहन आग्रह गरिएको छ । अरु बेलाको तुलनामा लकडाउनको समयमा वन निशानामा पर्न थालेको नेपालले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँवस्तीमा चहलपहल कम भएको मौका छोपेर काठ तस्करी हुन थालेको छ, नियन्त्रण गर्न हामी चनाखो छौँ ।” 

जिल्लामा कोराक, राप्ती, खैरहनी, कालिका, खगेडी, हरिपुर, भरतपुर, इच्छाकामनासहित आठ सवडिभिजन कार्यालय छन् । जिल्लामा ९१ सामुदायिक र ४३१ कबुलियती वन छन् । डिभिजन वन कार्यालयअन्तर्गत ५७ हजार ६५० हेक्टर वन क्षेत्र पर्छ । जसमध्ये सामुदायिक वनतर्फ २१ हजार ५०० हेक्टर, कबुलियती वन एक हजार ५६१ हेक्टर, वरण्डाभार संरक्षित वन १० हजार ३०२ हेक्टर, धार्मिक वन १० हेक्टर रहेको छ । जिल्लामा सशस्त्र वनरक्षक २३ र वनरक्षक २४ जना छन् । अधिकांश वनहरुमा हेरालु राखिएका छन् । 

यसैबीच डिभिजन वन कार्यालय चितवनले लकडाउनको मौका छोपी काठ तस्कर गर्ने तीन जनालाई पक्राउ गरेको छ । कार्यालयका प्रमुख नेपालका अनुसार उनीहरुलाई १० थान साइकल, एक थान मोटरसाइकल र २४० क्यूफिट काठसहित पक्राउ गरिएको हो । पक्राउका क्रममा अन्य व्यक्ति भागेका छन् । गर्दास र शक्तिखोर क्षेत्रको बरण्डाभार क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो । पक्राउ परेकाहरुलाई वन ऐनअन्तर्गत मुद्दा दर्ता गर्ने तयारी गरिएको नेपालले बताउनुभयो । अहिले अनुसन्धानको काम भइरहेको छ ।

कार्यालयका योजना शाखा प्रमुख सहायक वन अधिकृत बालकृष्ण खनालले बरामद भएका काठ र साइकल, मोटरसाइकललाई डिभिजन वन कार्यालय, सवडिभिजन कार्यालय रहेका शक्तिखोर, पदमपुरमा सुरक्षित राखिएको छ । तस्करका गिरोह नै नियन्त्रण गर्न गस्तीलाई प्राथमिकता दिइएको उहाँले बताउनुभयो । उहाँका अनुसार लकडाउनकै समयमा घाइते, टुहुरा तथा असहाय वन्यजन्तु (चित्तल, बँदेल, मृग आदि) को उद्वार तथा उपचारका क्रममा सात वन्जन्तुको मरेका छन् । लकडाउनकै बेला डिभिजन वन कार्यालय मातहतको १२६ हेक्टर वन क्षेत्रमा लागेको वन डढेलो नियन्त्रण गरिएको उहाँले बताउनुभयो ।

युवा विद्यार्थी रक्तदान अभियानमा 
लकडाउनका कारण रगतको अभाव भइरहेका बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अनेरास्ववियु र राष्ट्रिय युवा सङ्घ जिल्ला कमिटी चितवनले अभियानको रुपमा रक्तदान कार्यक्रम थालेका छन् । अनेरास्ववियु चितवनका संयोजक प्रकाश आचार्यका अनुसार वैशाख ११ गते भरतपुर महानगरपालिका–१ रामनगरबाट घुम्ती रक्तदान कार्यक्रम शुरु गरिएको हो । पहिलो दिन ८१ जनाले रक्तदान गरेका थिए । त्यसपश्चात वैशाख १५ गते भरतपुर महानगरपालिका–११ का २ स्थानमा रक्तदान गरिएको थियो । सो दिन ८७ जनाले रक्तदान गरेको आचार्यले जानकारी दिनुभयो । आज भरतपुर महानगरपालिका वडा नं १० स्थित सप्तगण्डकी बहुमुखी क्याम्पसमा भएको कार्यक्रममा ६१ जनाले रक्तदान गरेका छन् । 

कार्यक्रम भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शुभारम्भ गर्नुभएको थियो । अखिलका जिल्ला सदस्य सचेत सुवेदीका अनुसार यही वैशाख २० गते भरतपुर महानगरपालिका वडा नं १२ र २२ गते वडा नं २४ मा रक्तदान कार्यक्रम हुँदैछ । जेठ १ गते युवा विद्यार्थी स्थापना दिवस हो । सो दिन खैरहनी र त्यसअघि पूर्वी चितवनको खोलेसिमल र बकुलहरमा रक्तदान कार्यक्रम गरिने सुवेदीले जानकारी दिनुभयो ।

जिल्लामा दैनिकजसो रगत अभावका कारण रक्तदाता जुटाउनुपर्ने बाध्यतालाई केही हदसम्म सहयोग पुगोस् भन्ने उद्देश्यले आफ्नो स्थापना दिवसको सन्दर्भ पारेर घुम्ती रक्तदान कार्यक्रमको आयोजना गरिएको उहाँले जानकारी दिनुभयो । एकै ठाउँमा रक्तदान गर्दा भीड बढी हुने भएकाले ठाउँठाउँमा रक्तदान गरिएको हो । (रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.