शशी श्रेष्ठ
पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म, सदनदेखि सडकसम्म पटक पटक तातेको विषय हो गाँजा खेती। गाँजा भन्ने बित्तिकै जुन प्रकारको नकारात्मक बुझाइ नेपाली परिवेशमा पाइन्छ, त्यस्तै सकरात्मक सोचाइको पनि नेपाली जनमानसमा विकास गर्न निकै जरुरी देखिन्छ। आर्थिक रूपमा जति नै गरिब भएपनि प्राकृतिक रुपले नेपाल आज पनि संसारभरि धनी मानिन्छ। यहाँ पाइने अनेकौँ जडिबुटीमध्ये गाँजा पनि एक हो जसका बैगुण भन्दा गुण धेरै छन्। धेरै विज्ञहरुको रिसर्च अनुसार विश्वभरिको गाँजामध्ये नेपालको गाँजा सबैभन्दा उत्तम मानिन्छ। गाँजा र गाँजा खेतिका अनेकौं फाइदा छन् जसलाई मध्यनजर गरी नेपाल सरकारले यसलाई पनि प्राथमिकता दिइ व्यावसायिक रुपमा विस्तार गर्न निकै जरुरी देखिन्छ।
अनेकौं खेतीहरुमध्ये सबैभन्दा सजिलो पनि गाँजा खेतीलाई मानिन्छ। यसलाई अरु खाद्यान्न उत्पादनको लागि चाहिने जति मल-जलको आवश्यकता पर्दैन। अझ यसलाई कुनै विशेष वातावरण पनि चाहिदैन। डाँडा-पाखा, वन-जंगल जताततै हुने यो गाँजा खेती धेरै परिश्रमबिना नै उब्जनी गर्न सकिने भएकाले हाम्रा खाली रहेका जमिनहरु अब बाँझो रहने छैनन्। यसले गर्दा सबैभन्दा धेरै त देशको आर्थिक उन्नति हुनेछ, नेपाली दाजुभाई-दिदीबहिनी बिदेशिनु पर्ने छैन, रोजगारी आफ्नै गाउँठाउँमा हुनेछ।
यसपालीको बजेट अनुसार जडिबुटी प्रसोधन सम्बन्धि उध्योग स्थापना, कर्णाली प्रदेशमा व्यावसायिक रुपमा सम्भाव्य जडिबुटी छेत्र पहिचान, संकलन तथा प्रशोधन, औद्योगिक उत्पादन, रोजगारी सृजना, आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन हुनेगरी अनुमानित लागत ३० अर्बको बजेट छुट्याउने हाम्रो सरकारको स्वागतयोग्य कदमलाई हौसला बढाउँदै साथ दिनु हामी सम्पूर्ण नेपालीको प्रमुख कर्तव्य हो।
हरेक कुराका सकरात्मक र नकारात्मक दुई पक्ष हुन्छन्, लाखौँ गुणहरुले भरिपूर्ण गाँजाका पनि केही नकारात्मक पक्षहरु अवश्य छन् तर यी सबै मानवीय दृष्टिकोणमा भर पर्ने कुराहरु हुन्। विश्वका ठूला-ठूला विकसित राष्ट्रहरूमा गाँजा खेतीलाई र गाँजा सेवनलाई वैध बनाउनुमा पनि केही कारण त पक्कै होलान्। यो त्यस्तै हानिकारक बस्तु भएको भए यसको माग यति बढ्दो किन हुन्थ्यो र ? हामी सबै नेपालीहरुले यो बुझ्न जरुरी छ कि गाँजाको सेवनबाट निकै रोगहरू निको हुन्छन्। क्यान्सर, अल्जाइमर, इपिलिप्टिक सिजर तथा पार्किन्सन्स जस्ता निकै डरलाग्दा रोगहरुको उपचारमा गाँजाको ठूलो भूमिका हुन्छ। गाँजाको सेवनले दिमागलाई बलियो बनाउनुको साथै कुनै झट्का लाग्दा पनि दिमागलाई असर पुग्नबाट यसले बचाउँछ, यो कुरा मुसा र बाँदरमा गरिएको अनुसन्धानबाट पुष्टि भएको छ। यति मात्र नभई गाँजाको काठबाट फर्निचर बनाउन सकिन्छ भने यसको रुखको बोक्राबाट कपडा तथा कागज पनि बनाउन मिल्छ। यस्को जराबाट विभिन्न किसिमका किटनाशक विषादी पनि बनाउन प्रयोग गरिन्छ।
सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टीका सांसदहरुले फागुन १९ गते प्रतिनिधि सभामा गाँजा खेतीलाई वैध बनाउने सम्बन्धि गैर सरकारी विधेयक दर्ता गरेका छन्। विकासोन्मुख देशको आर्थिक स्थितिमा सुधार ल्याउन गरिएको यो एकदमै राम्रो सुरुवात हो।कोरानाको कारणले विश्व नै लकडाउनमा परेर जनजीवन आक्रान्त बनेको बेला सरकारले बाहिरीएका नेपाली युवालाई आफ्नै देशमा फर्कन पहल गरेर कृषि क्रान्ति लेराउन सायदै ढिला भै'सक्यो। यसमा आफ्नो आफ्नो ठाउँको जनप्रतिनिधि र बुद्धिजीवीहरु लागेर देशमै बस्न सक्ने र अडिन सक्ने वातावरण बनाउन अत्यन्त जरुरी छ। काठमाडौंको मुहार फेर्ने हाम्रा निडर र आँटिला पूर्व मेयर केशव स्थापित ज्यूको यो नयाँ र नौलो सोचको लागि हामी सबैले एकपटक गहिरिएर अध्ययन गरौँ।
फाइदै फाइदा भएको गाँजा खेतीलाई तस्करी गर्ने देशविदेशका माफियाबाट जोगाउँदै गरीब किसानहरूको हितमा हुनेगरी संसदमा प्रतिबन्ध फुकुवा हुनुपर्छ। समृद्ध नेपाल र धनि नेपाली बनाउने भनेकै यस्ता प्रकारका प्राकृतिक जडिबुटीहरु हुन्। बिदेशिएका नेपालीलाई स्वदेशमा फर्किने वातावरण मिलाउँदै सरकारले गाँजा खेतीमा प्रोत्साहन गर्नुपर्छ। आफ्ना आफ्ना छेत्रमा अब्बल प्रत्येक नेपालीले काम गर्ने मौका पाउनेछन् र स्वाबलम्बी बन्नेछन्। त्यसकाण गाँजा र गाँजा खेतीप्रतिको नकारात्मक सोचलाई हामीले बदल्न नितान्त आवश्यक छ।

No comments:
Post a Comment