तिम्रो बारेमा लेख्न त मलाई पनि मन लाग्छ - pharaksandesh.com

मुख्य समाचार


Saturday, 6 June 2020

तिम्रो बारेमा लेख्न त मलाई पनि मन लाग्छ

स्मारिका पाैडेल
तिम्रो बारेमा लेख्न त मलाई पनि मन लाग्छ 
तर खै कपालको केस्रा बाट सुरु गरौँ कि
तिम्रो पैतलाबाट भन्ने लाग्छ!
तिमी त मेरो लागि कम्पासले बनाएको सर्कल !
चिटिक्क मिलेको 
न कतै खुम्चिएको न कतै भत्किएको
जतैबाट हेर्दा पनि खोट नभएको।

थाहा छ?
जब जब तिम्रो शिरदेखि तल तल झर्दै जान्छु 
तिम्रै चम्किला नयन सँग मेरा नयन जुध्ने गर्छन् ।
तिम्रा नयनमा डुबेका मेरा नयन हटाउन खोज्दै गर्दा 
जब मेरो नजर त्यो मिलेको नाक भन्दा थोरै तल,
ती पुष्ट गालाहरूको बीच पुग्छन् ,
ती सुन्दर अनि मिलेका अधरमा
तब मेरा नजरले सिर्फ पवित्रता पाउने गर्छन् 
स्वार्थ बिनाको लोभ्याउने मुस्कानमा ।

अनि जब पैतलाबाट सुरू गरौँ सोच्छु
तिम्रा हरेक संघर्षसँग परिचित हुँदै ,
तिमी भित्र झन् झन हराउँदै जान्छु
तिम्रा पाइलाहरु सँग साक्षात्कार गर्दै जाँदा 
लाग्ने गर्छ भिडहरुको बिच भएर पनि 
तिमी त्यो भिडभन्दा कति फरक छौ ।

तिम्रा नयन, अधर अनि तिम्रा पाइला 
यिनीहरु त तिमीसँगै छन् ,तिम्रो जन्म देखि 
तर केवल आकृति मात्र।
तिमीले नै त हो
नयनमा गहिराइ 
अधरमा मुस्कान 
अनि पाइलामा विश्वास रोपेको ।

तिम्रो अघि त मेरो लागि 
प्रेमको गुलाबी रङ पनि फिका लाग्छ ।
थाहा छैन किन! 
तिमीसँग बितेको हरेक पल खास लाग्छ!
हरेक पटक जब तिमीलाई नियाल्छु
मेरो छाती भित्रको मुटुलाई पनि छनक हुन्छ 
सायद त्यही भएर हो, मलाई तिम्रो असाध्यै माया लाग्छ!

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.