प्रहरी, सेना लगायत सुरक्षाकर्मीलाई कोरोना संक्रमणको जोखिम र समाधान – डा. रवीन्द्र पाण्डे - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 29 July 2020

प्रहरी, सेना लगायत सुरक्षाकर्मीलाई कोरोना संक्रमणको जोखिम र समाधान – डा. रवीन्द्र पाण्डे

हालसम्म नेपाल प्रहरीमा एसपी सहित १८४ जना संक्रमितको पहिचान भएको छ। प्रहरी हेड क्वाटर र स्याङ्जामा धेरै प्रहरी संक्रमित पाइएको छ। कोरोना संक्रमणको महामारीको समयमा प्रहरी, सेना, उद्योगमा काम गर्ने मजदुर तथा स्वास्थ्यकर्मी धेरै सचेत हुनु जरुरी छ । 

सुरक्षाकर्मीहरु पहिलेजस्तै समुहमा मार्निंग वाक गर्ने, गस्तीमा निस्कने, समुहमा खाना खाने तथा समुहमा बस्ने गरेका छन् ।  जनस्वास्थ्यको दृष्टिकोणले यो अभ्यास असुरक्षित मानिन्छ ।  महामारीको समयमा सुरक्षाकर्मीले अनिबार्य र सहि तरिकाले मास्क लगाउने, कम्तीमा पनि ६ फिटको दुरी अनिबार्य पालना गर्ने, मेसमा तथा क्वाटरमा दुरीको अनिवार्यता लागु गर्ने तथा सामान्य लक्षण देखिएका सुरक्षाकर्मीलाई तुरुन्त छुट्टै ठाउँमा राखेर परीक्षणको ब्यबस्था मिलाउन जरुरी छ। 

सुरक्षा फौजले अत्यन्तै नजिकबाट चेकजाँच गर्ने, विवरण लिने, सोधपुछ गर्ने, शंकास्पद व्यक्ति वा समुहलाई भ्यानमा राखेर प्रहरी कार्यालय वा अदालत लैजाने, लाइसेन्स / ब्लु बुक / परिचय पत्र चेक गर्ने, मापसे चेक गर्ने जस्ता काम गर्दा व्यक्तिगत दुरी कायम गर्न निकै अप्ठ्यारो छ।  बादबिबाद गर्दा चर्को स्वरमा बोल्नुपर्ने र चर्को स्वरमा बोल्दा संक्रमितको मुखबाट धेरै भाइरस बाहिर निस्किने हुन्छ ।  यसले गर्दा सुरक्षाकर्मी संक्रमित हुने सम्भावना धेरै हुन्छ। 

संक्रमित सुरक्षाकर्मीले संगै गस्ती गर्ने, ब्यायाम गर्ने, खाना खाने तथा सुत्ने ठाउँमा अन्य सुरक्षाकर्मीलाई संक्रमण सार्ने सम्भावना अत्यधिक हुन्छ ।  त्यस्तै संक्रमित सुरक्षाकर्मीले आफ्ना सेवाग्राही नागरिक तथा चेकजाँच गर्ने व्यक्तिलाई समेत संक्रमण सार्ने ठूलो सम्भावना हुन्छ। 

सुरक्षाकर्मीलाई बचाउनको लागि उल्लेखित उपाय अबलम्बन गर्नु जरुरी छ । 

१. महामारीको समयभर सामुहिक मर्निंग वाक वा ब्यायाम नगर्ने, चौरमा घटीमा ६ फिटको दुरी कायम गरेर व्यायाम गर्ने,

२. मेसमा खाना पकाउने तथा भाँडा सफा गर्ने व्यक्तिको निरन्तर स्वास्थ्य परीक्षण गर्ने, खाना खाँदा न्युनतम ६ फिटको दुरी कायम गर्ने ,

३. सवारी चलाउने सुरक्षाकर्मीको पिसिआर परीक्षण समय समयमा गर्ने,

४. सोधपुछ तथा खानतलासी गर्दा सहि तरिकाले गुणस्तरीय मास्क, चस्मा, पंजा अनिबार्य लगाउने, चेकजाँच तथा केरकार गर्ने सुरक्षाकर्मीले PPE लगाउने | सुरक्षाकर्मीलाई सुरक्षा सामग्री पर्याप्त उपलब्ध गराउने,

५. हरेक बस्तु छोएपछि साबुनपानीले हात धुने वा गुणस्तरीय ह्याण्ड स्यानिटाइजरले हात सफा गरिरहने,

६. हरेक अवस्थामा दुरीको ख्याल गर्ने ,

७. सकभर भेन्टिलेसन भएको खुला ठाउँमा बस्ने, काम गर्ने ,

८. सामुहिक बसाइलाई ब्यबस्थित बनाउने, एउटा बेडदेखि अर्को बेडको दुरी २ मिटरभन्दा टाढा राख्ने,

९. पर्याप्त र सफा सौचालयको प्रबन्ध गर्ने,

१०. ५० बर्ष नाघेका, दीर्घ औषधिसेवी, गर्भवती तथा सुत्केरी सुरक्षाकर्मीलाई जनसम्पर्कको काममा नखटाउने,अफिसियल काममा खटाउने,

११. सुर्ती सेवनमा प्रतिबन्ध लगाउने, सुर्ती सेवन गर्दा हातमा भाइरस भएमा सिधै मुखमा जाने डर हुन्छ,

१२. सकभर एउटा कोठामा धेरै जना नसुत्ने, यसको लागि टेन्ट, टहरा वा अन्य संरचना उपयोग गर्ने,

सुरक्षाकर्मीको नागरिकसंग नजिकको सम्बन्ध हुन्छ। तसर्थ सुरक्षाकर्मी संक्रमित भएमा नागरिकमा संक्रमण फैलिने तथा नागरिक संक्रमण भएमा सुरक्षाकर्मीलाई संक्रमण सर्ने हुन्छ। यो विषम परिस्थितिमा सुरक्षाकर्मीको मनोबल बढाउने, सुरक्षा सामग्री उपलब्ध गराउने तथा समयसमयमा परामर्श दिने ब्यबस्था गर्नु जरुरी छ। 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.