जनप्रतिनिधि र सञ्चारकर्मीमा कोरोना सङ्क्रमण - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 13 October 2020

जनप्रतिनिधि र सञ्चारकर्मीमा कोरोना सङ्क्रमण


महोत्तरी, २७ असोज :
पछिल्ला केही दिनयता महोत्तरीमा जनप्रतिनिधि र सञ्चारकर्मी कोरोना (कोभिड–१९) सङ्क्रमणमा पर्ने क्रम बढेको छ । 

सोमबार अबेर राति जिल्लाको भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । नगरप्रमुख साह आफैँले आफ्नो पिसीआर जाँचको नतिजा पोजेटिभ आएको सार्वजनिक गर्नुभएको छ । 

“पछिल्ला चार दिनयता ज्वरो आउने र जिउ, हात कटकटी दुख्दै आएको थियो”, प्रमुख साहले भन्नुभयो, “सोमबार जनकपुरमा स्वाब परीक्षणका लागि दिएँ, पोजेटिभ नतिजा आयो ।” अब बाह्य सम्पर्क सबै बन्द गरेर घरमै उच्च सतर्कतासाथ आइसोलेसनमा बसेको साहको भनाइ छ । भङ्गाहा–४ का वडाध्यक्ष अशोककुमार महतो पनि सङ्क्रमित हुनुभएको थियो । अहिले महतो सङ्क्रमणमुक्त भइसक्नुभएको छ । 

यसैबीच महोत्तरीका सञ्चारकर्मी एकपछि अर्को सङ्क्रमणको चपेटामा परेका छन् । अहिले राससकर्मी गोपालप्रसाद बराल र कान्तिपुरकर्मी सुनिता बराल पिसीआर परीक्षणबाट कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि होम आइसोलेसनमा हुनुहुन्छ । गोपालको गत बिहीबार र सुनिताको गत शनिबार सङ्क्रमण पुष्टि भएको हो ।

यसअघि अन्नपूर्णकर्मी राजकरण महतो र न्यूज–२४ का ललनकुमार मण्डलमा कोभिड–१९ पुष्टि भएको थियो । यद्यपि महतो र मण्डल दुवै सङ्क्रमणमुक्त भइसक्नुभएको छ । महतोमा असोज १० गते र मण्डलमा गत भदौमै स्वाब परीक्षणबाट सङ्क्रमण पुष्टि भएको थियो । जनप्रतिनिधि र सञ्चारकर्मी आफैँले सङ्क्रमण पुष्टिबारे सार्वजनिक गरेका हुन् ।(रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.