सहुलियत पसलमा बिक्री भएन चामल - pharaksandesh.com

मुख्य समाचार


Friday, 9 October 2020

सहुलियत पसलमा बिक्री भएन चामल


वीरगञ्ज, २३ असाेज :
दशैँ तिहारलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको एक साता भए पनि अहिलेसम्म एउटा ग्राहक आएका छैनन् । सहुलियतमा चामल बिक्री गर्ने कार्य शुरु गरे पनि हालसम्म बोहनीसमेत हुन नसकेको सो कार्यालयले जनाएको छ ।

शाखा प्रमुख विकास कटुवालका अनुसार स्टिम जिरा मसिनो चामल प्रतिकिलो रु ६५ मा पाउने चामलमा रु पाँच सहुलियत दिइएको छ । पसलबाट एक उपभोक्तालाई बढीमा ५० किलोसम्म चामल उपलब्ध गराइने छ । मङ्सिर ६ गतेसम्म सञ्चालनमा रहने उक्त सहुलियत पसलबाट २०० क्विन्टल चामल बिक्री गर्ने लक्ष्य लिइएको सूचना अधिकारी मुनिलाल कुशवाहले बताउनुभयो । सो सहुलियत पसलमा २५ किलोको र १० किलोको गरी दुईथरीका चामलका प्याकेट बिक्रीको लागि राखिएको छ ।

उपभोक्ताको माग भएअनुसार पछिपछि अन्य खाद्यान्न तथा तेलसमेत राखिने बताइएको छ । सो चामल बिक्रीको बजार दर तथा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बेच्न राखेको चामलको भाऊ उस्तै उस्तै भएकाले उपभोक्ता आकर्षित हुन सकेका छैनन् । गत वर्ष सो कार्यालयले यही समयमा तीन क्विन्टल ४० केजी मात्र चामल बिक्री गर्न सकेको थियो । उपभोक्ताले मास्क लगाएर आउनुपर्ने, साबुनपानीले हात धुनु पर्ने र ह्याण्ड सेनिटाइजरको प्रयोग गर्न अनिवार्य गरिएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.