काठमाडौँ, ११ पुस : मन्त्रिपरिषद्को शुक्रबार राति बसेको बैठकले संघीय संसद् राष्ट्रिय सभाको हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले दिएको जानकारीअनुसार मन्त्रालयगत एजेन्डाका साथै राष्ट्रिय सभाको हिउँदे अधिवेशन बोलाउने निर्णय मन्त्रिपरिषद्ले गरेको हो । 'अरु मन्त्रालयगत केही एजेन्डा थिए । अनि संघीय संसदको अपर हाउस राष्ट्रिय सभाको हिउँदे अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय भयो,' उहाँले भन्नुभयाे ।
मन्त्री त्रिपाठीले दिएको जानकारीअनुसार राष्ट्रिय सभाको हिउँदे अधिवेशन पुस १७ गतेका लागि आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गरिएको छ ।
मन्त्रिपरिषद्को बैठक शुक्रबार राति साढे ९ बजेपछि बसेको थियो । मन्त्रिपरिषद्को बैठकमा नयाँ मन्त्रीहरूलाई स्वागत गरिएको बताइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार ७ बजेपछि ८ मन्त्री र एक राज्यमन्त्री थप्नुभएकाे थियाे । उहाँहरूले राष्ट्रपति र प्रधानमन्त्री समक्ष शपथग्रहण गर्नुभएकाे थियाे ।
संघीय संसदको प्रतिनिधिसभा भने प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गर्नुभएकाे छ । पुस ५ गते प्रतिनिधिसभा विघटन गरिएको हो ।
संसदका दुई अधिवेशनबीचको समय ६ महिनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्थाअनुसार पुस १७ गतेदेखि बस्नेगरी राष्ट्रिय सभाको अधिवेशन आह्वान गरिएको हो । संघीय संसद्को यसअघिको अधिवशेन असार १८ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले अचानक अन्त्य गर्नुभएकाे थियाे ।

No comments:
Post a Comment