पतिको निधनपछि सिन्दूर–पोतेसहित घाटबाट फर्केर काजकिरिया - pharaksandesh.com

मुख्य समाचार


Monday, 7 December 2020

पतिको निधनपछि सिन्दूर–पोतेसहित घाटबाट फर्केर काजकिरिया


विर्तामोड, २२ मङ्सिर :
झापाको विर्तामोड नगरपालिका- ८ की रेनुका नेपालले पतिको निधनपछि सिन्दूर पोते फाल्नुपर्ने प्रचलनलाई तोडेर घाटबाटै सिन्दूर–पोतेसहित घर फर्केर काजकिरिया बारिरहनुभएको छ ।

उहाँका पति केशव नेपालको मिर्गौला रोगका कारण शनिबार ६१ वर्षको उमेरमा निधन भएको थियो । सत्र दिनअघि घरछेउ पैदलयात्रा गरिरहेका बेला मोटरसाइकलको ठक्करले घाइते भएपछि उहाँको मिर्गौलामा समस्या थपिएको थियो ।

बिएन्डसी र नोबेल हस्पिटलमा उपचार गर्दासमेत स्वास्थ्यमा सुधार नभएको उहाँको शनिबार निधन भएपछि स्थानीय देउनिया घाटमा दाहसंस्कार गरिएको थियो ।

दाहसंस्कारकै क्रममा पत्नीको सिन्दूर पुछिदिने र हातका चुरा फुटाइदिने प्रचलन छ तर रेनुकाले आफ्ना पतिबाट सौभाग्यको रूपमा पाएको सिन्दूर र पोते नफाल्ने बताउँदै सेतो लुगामा घर फर्किनुभयो । हाल निजी निवासमा पतिको किरिया बारिरहनुभएकी उहाँको यो निर्णयलाई परिवार, छरछिमेकी र देख्नेसुन्नेले साहसिक निर्णय भन्दै समर्थन जनाएका छन् ।

रेनुकाको साहसिक कार्यलाई सामाजिक सञ्जालमार्फत समर्थन र हौसला दिनेहरु बढिरहेका छन् । रेनुकाका पति स्व केशव नेपाल कुनै नेता तथा पदीय ओहोदामा रहेका व्यक्ति होइन । उहाँ विर्तामोडस्थित आफ्नै घरमा सानो पसल चलाउनुहुन्थ्यो । रेनुकासमेत सामान्य गृहिणी हुनुहुन्छ । स्व केशव नेपालका दुई छोरा र दुई छोरी छन् ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.