ट्रम्पद्वारा फ्लोरिडामा “पूर्व राष्ट्रपतिको कार्यालय” स्थापना - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 26 January 2021

ट्रम्पद्वारा फ्लोरिडामा “पूर्व राष्ट्रपतिको कार्यालय” स्थापना


पाल्म बिच, १३ माघ :
अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो गृहराज्य फ्लोरिडामा “पूर्व राष्ट्रपतिको कार्यालय” स्थापना गर्नुभएको छ । फ्लोरिडाको पाल्म बिचमा सोमबार उहाँले कार्यालय स्थापना गर्नुभएको स्थानीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।“पूर्व राष्ट्रपतिको कार्यालयबाट उहाँले पूर्व राष्ट्रपतिको रुपमा गर्ने सार्वजनिक भूमिका र गतिविधिह सञ्चालन हुनेछ,” उहाँका सहयोगीहरुले भनेका छन् । सो कार्यालयबाट पत्र तथा वक्तव्यहरु आदानप्रदान गर्ने, बैठक तथा भेटवार्ता गर्ने, औपचारिक सम्पर्क गर्नेलगायतका कार्यहरु हुने पनि उहाँका सहयोगीहरुले जनाएका छन् ।

त्यसैगरी ट्रम्पको कार्यकालमा भए गरेका कामहरुको समीक्षा तथा निरन्तर चासो राख्ने र त्यसलाई थप संस्थागत गर्ने कार्यमा पनि यस कार्यालयबाट गतिविधिहरु हुने जनाइएको छ । नयाँ राष्ट्रपति जो बाइडेनको प्रशासनले गरेका कामहरुप्रति टिप्पणी गर्ने र त्यसका विरुद्धमा जनमत आफ्नो पक्षमा पारिरहने रणनीति पनि यस कार्यालयले अपनाउने अनुमान गरिएको छ ।

“राष्ट्रपति ट्रम्प सधैँ अमेरिकी जनताको राष्ट्रपति हुनुहुन्छ, सबैले उहाँलाई आफ्नो अभिभावक मानेका छन्,” उहाँको कार्यालयद्वारा जारी वक्तव्यमा लेखिएको छ । उहाँको कार्यालयको नामलाई आधार मान्दा उहाँ सन् २०२४ मा हुने राष्ट्रपतिको निर्वाचनमा पनि उम्मेदवार बन्नु हुनेछैन भनेर भन्न नसकिने टिप्पणी गरिएको छ । तर उहाँ र उहाँका सल्लाहकार तथा सहयोगीहरुले भने यस बारेमा स्पष्ट पारेका छैनन् ।

यही जनवरी २० तारिखमा राष्ट्रपति कार्यालयबाट बाहिरिएपछि पूर्व राष्ट्रपति ट्रम्प सोमबारसम्म मौन रहनुभएको थियो । सामाजिक सञ्जाल ट्वीटरले समेत उहाँको ट्वीटर खाता खारेज गरिदिएकाले पनि उहाँलाई सार्वजनिक रुपमा टीकाटिप्पणी गर्ने माध्यमको अभाव भएको थियो ।

अमेरिकी संसदमा भएको पछिल्लो हिंसात्मक घटनाको प्रशंसा गर्दै हिंसात्मक गतिविधिलाई प्रोत्साहन गरेपछि ट्वीटरले उहाँको खाता खारेज गरिदिएको हो । अनेक विवादका बीच आफ्ना प्रतिस्पर्धी बाइडेनको जितलाई समेत अस्वीकार गर्दै उहाँलाई बधाइ नदिइ ट्रम्प राष्ट्रपति कार्यालय ह्वाइट हाउसबाट बाहिरिनुभएको थियो ।

ह्वाइट हाउस छोडे पनि उहाँले पूर्व राष्ट्रपतिको रुपमा सक्रिय र हस्तक्षेपकारी भूमिका भने खेलिरहनु हुने देखिएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.