नेपालमा कोरोनाविरुद्धको पहिलो खोप टेकु अस्पतालका डा. राजभण्डारीले लगाउने - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 26 January 2021

नेपालमा कोरोनाविरुद्धको पहिलो खोप टेकु अस्पतालका डा. राजभण्डारीले लगाउने


काठमाडाैँ, १३ माघ :
नेपालमा कोरोना भाइरस (काेभिड–१९) विरुद्धको पहिलो खोप शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक सागर राजभण्डारीले लगाउनुहुने भएको छ ।

भोलि (बुधबार) बिहान १० बजे सुरु हुने खोप अभियानअन्तर्गत आफूले पहिलो खोप लगाउने डा. राजभण्डारीले बताउनुभयो । उहाँले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुकै केन्द्रमा खोप लगाउनुहुने छ । 

खोपप्रति धेरैमा आशङ्कासमेत रहेकोले खोप सुरक्षित रहेको सन्देश दिन आफूले पहिलो खोप लगाउन लागेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘खोपले कुनै असर पो गर्छ कि भन्ने डर अहिले सामान्य नागरिकसँगै कतिपय स्वास्थ्यकर्मीहरूमा पनि छ, यस्तो बेलामा यो खोप सुरक्षित छ भन्ने सन्देश दिनु आवश्यक छ, त्यसैले मैलै पहिलो खोप लगाउने निर्णय गरेको हु, मसँगै हाम्रो अस्पतालका प्रवक्ता अनुप बाँस्तोलाले पनि खोप लगाउनुहुन्छ, कोरोनाविरुद्ध सुरुवातदेखि अग्रपङ्क्तिमा रहेका मानिसले खोप लगाउँदा अरूलाई पनि खोपप्रतिको डर हराउँछ भन्ने लागेको छ ।’ 

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान १० बजे काठमाण्डाैकाे तीन वटा अस्पतालमा भर्चुअल विधिबाट एकैचोटि खोप अभियानको उद्घाटन गर्ने कार्यक्रम छ । बुधबारदेखि सुरु हुने खोप अभियानका लागि सातै प्रदेशमा खोप पुर्‍‍याइएकाे स्वास्थ्य सेवा विभागले जनाएको छ । विभागअन्तर्गतको खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमले चार लाख ३० हजार जनालाई खोप लगाउने तयारी रहेको बताउनुभयो ।

सरकारले भारतबाट अनुदानमा आएको १० लाख डोज खोप सुरुमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स तथा शववाहन चालकलगायतलाई दिने जनाएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.