फिलाडेल्फियामा गोली हानाहान, छ प्रहरी घाइते - pharaksandesh.com

मुख्य समाचार


Friday, 16 August 2019

फिलाडेल्फियामा गोली हानाहान, छ प्रहरी घाइते

वासिङ्टन, ३१ साउन : संयुक्तराज्य अमेरिकाको फिलाडेल्फिया शहरमा लागूपदार्थका शंकास्पद कारोबारीसँग भएको गोली हानाहानमा छ प्रहरी घाइते भएको फिलाडेल्फिया प्रहरी विभागले जनाएको छ । 

विभागका अनुसार लागूपदार्थका कारोबारीहरुलाई पक्राउ गर्ने क्रममा घण्टौ लागेको थियो । घाइते प्रहरीको सामान्य उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । प्रहरी आयुक्त रिचार्ड रस जुनियरले आफ्नो ३० वर्षे कार्यकालमा प्रहरीसँग यति लामो समयसम्म कुनै पनि समूहले भिडन्त नगरेको बताउनुभयो ।

यसै महिनाको शुरुमा अमेरिकाकै ओहायो राज्यको डेटन र टेक्सास राज्यको एल पासोमा भएका गोलीकाण्डमा ३२ जनाको ज्यान गएको थियो । 

एक व्यक्तिले घरभित्रबाट प्रहरीमाथि लगातार गोली चलाएका थिए, तर प्रहरीले निकै प्रयासपछि ती व्यक्तिलाई पक्राउ गरेको थियो । 

फिलाडेल्फिया नगरका मेयर जीम केन्नीले प्रहरी विभागले सफलतापूर्वक कारबाही गरेकामा धन्यवाद दिनुभएको छ । एकै व्यक्तिले प्रहरीसँग घण्टौंसम्म भिड्न पुग्ने गरी गोली संकलन गरेकामा आश्चर्य व्यक्त गर्दै मेयर केन्नीले यो निकै खेदजनक छ भन्नुभयो । 

संयुक्तराज्य अमेरिकामा पछिल्ला वर्षहरुमा बन्दुकसँग सम्बन्धित हिंसा बढे पनि त्यसलाई नियमन गर्नेतर्फ पक्ष र विपक्षमा समाज र राजनीतिक क्षेत्र व्यापक रुपमा ध्रुवीकृत भएको छ । अमेरिकामा निकै शक्तिशाली मानिएको नेसनल राइफल एसोसिएसनले बन्दुक खरिदमा कडा नियम ल्याउने प्रस्तावलाई अस्वीकार गरिरहेको छ ।(रासस/एएफपी)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.