प्रदेश नं २ मा २५० सङ्क्रमित थप, गण्डकीमा दुई हजार र कर्णालीमा पच्चीस सय पुगे - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 2 September 2020

प्रदेश नं २ मा २५० सङ्क्रमित थप, गण्डकीमा दुई हजार र कर्णालीमा पच्चीस सय पुगे

जनकपुर, १७ भदौ : प्रदेश नं २ मा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु हुनाका साथै २५० जना नयाँ सङ्क्रमित थपिएका छन् । सो अवधिमा बारा जिल्लामा एक जनाको मृत्यु भएको छ । यससमेत गरी प्रदेशका अहिलेसम्ममा ९५ जनाको मृत्यु भइसकेको छ । 

सोही अवधिमा सप्तरीमा १५, सिरहामा १३, धनुषामा ५८, महोत्तरीमा २९, सर्लाहीमा ५१, रौतहटमा १८, बारामा ५२ र पर्सामा १४ जना नयाँ सङ्क्रमित थपिएका हुन् । प्रदेशमा सङ्क्रमितको सङ्ख्या १० हजार ५५६ पुगेको छ ।

तीमध्ये आज ८३ जना निको भएर घर फर्केका छन् । उपचार गराई निको भएर घर फर्केनेको सङ्ख्या पाँच हजार ७१ पुगेको छ । प्रदेशअन्तर्गतका १९६ क्वारेन्टिनमा ६३५ जना बसेका छन् । होम क्वारेन्टिनमा एक हजार ६३१, आइसोलेशनमा एक हजार ९० र होम आइसोलेशनमा चार हजार ३०० जना रहेको सो मन्त्रालयले जनाएको छ । गण्डकी– गण्डकी प्रदेशमा कोरोना संक्रमतिको संख्या दुई हजार २४५ पुगेको छ । क्षयरोग उपचार केन्द्र पोखरा, भरतपुर अस्पताल चितवन र राष्ट्रिय जनस्वास्थ्य प्रयोगाशालामा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा ३५ संक्रमित थप भएको प्रदेश कोरोना नियन्त्रण तथा कार्यक्रमका प्रवक्ता .विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरामा मात्रै एक नर्स र २० प्रहरी सहित २४ जनामा कोरोना देखिएको छ । 

कर्णाली– कर्णालीमा आज ९५ कोरोना संक्रमित थपिएका छन् । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाद्वारा प्रेषित विज्ञप्तिअनुसार संक्रमितको संख्या अप्रत्याशित रुपमा बढेको पाइएको छ । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले गरेको आरटी पिसिआर परीक्षणमा ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तिनमा जुम्लाका ३७ र कालीकोटका २१ जनामा कोरोना पुष्टि भएको महाशाखाका प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक वृषबहादुर शाहीले जानकारी दिनुभयो ।

त्यसैगरी कर्णाली प्रदेश अस्पताल तथा पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको आरटी पिसिआर परीक्षणमा सुर्खेतका १७, दैलेखका पाँच, बाँकेका चार, जुम्ला र जाजरकोटका दुईदुई तथा कालीकोट, बर्दिया, बझाङ, कैलाली, दार्चुला र दाङका एकएक गरी ३७ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको उहाँले बताउनुभयो ।

आज ९५ व्यक्तिमा संक्रमण देखिएसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या दुई हजार ५५१ पुगेको छ । दुई हजार १२५ व्यक्ति कोरोना संक्रमणमुक्त भएको बताउँदै महाशाखा प्रमुख शाहीले ३३५ संक्रमितको प्रदेशअन्तर्गतका विभिन्न आइसोलेशनमा उपचार भइरहेको जनाउनुभयो ।

पुनः निषेधाज्ञा कर्णालीमा कोरोना संक्रमण दिनप्रतिदिन बढ्दो अवस्थामा छ । दैनिक थुप्रै व्यक्तिमा कोरोना संक्रमण देखिँदा प्रदेशका जिल्ला प्रशासन कार्यालयले कतै सदरमुकाम त कतै जिल्लाभरि निषेधाज्ञा जारी गर्दै आएका छन् ।

मंगलबार मात्र जुम्लामा ४२ र कालीकोटमा १९, सुर्खेमा ११ र दैलेखमा एक गरी ७३ व्यक्तिमा कोरोना संक्रमण देखियो । नगरपालिकाभित्रै बढी संक्रमित भेटिएपछि जिप्रका जुम्लाले पुनः अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।

संक्रमणले झनै भयावह अवस्था लिन थालेपछि जुम्ला सदरमुकामको पूर्वमा दानसाँघु, पश्चिममा उमगाड, दक्षिण तिलानदी र उत्तरमा कर्णाली प्राविधिक शिक्षालय क्षेत्रमा निषेधाज्ञा जारी गरिएका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिनुभयो । 

प्रजिअ थापाले भन्नुभयो, “अर्को सूचना नभएसम्मका लागि यी चार किल्लाभित्र जमघट, भेला, भिडभाड, पर्व, जात्रा तथा आसन्न चाडपर्वहरु नगर्न नगराउन र औषधि पसल तथा स्वास्थ्य सेवाबाहेक सम्पूर्ण क्रियाकलाप बन्द गर्न आदेश गरिएको छ ।”

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.