काठमाडाैँ, २४ असाेज : डा. गोविन्द केसीको स्वास्थ्यप्रति सरकार गम्भीर नभएको केसी पक्षका वार्ता टोलीले आरोप लगाएको छ ।
अस्ति बिहीबार सरकार र डाक्टर केसी पक्षबीच भएको छलफल सहमति नजिक पुगेको भए पनि राजनीतिक नेतृत्व सहमतिबाट पछि हटेको केसी पक्षका वार्ता टोलीका संयोजक जीवन क्षेत्रीले आरोप लगाउनुभयो । उहाँले विज्ञप्ति निकालेर औपचारिक र अनौपचारिक छलफलका क्रममा सरकारी वार्ता टोलीसँग भएको सहमति राजनीतिक नेतृत्वले नमानेपछि गएराति अबेर भएको वार्ता भाँडिएको दाबी गर्नुभएको छ ।
उहाँले डाक्टर केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको भन्दै बिहीबार भएको वार्ताका समझदारीलाई औपचारिकता दिएर कार्यान्वयन सुनिश्चितताका लागि मन्त्रिपरिषदबाट पारित गर्न पनि सरकारसँग माग गर्नुभएको छ ।
यता सरकारी वार्ता टोलीले भने केही बुँदामा थप छलफल गर्नुपर्ने भएकाले राति निश्कर्ष ननिस्किएको बताएको छ । सरकारी टोलीले आज फेरि केसी पक्षसँग वार्ता गर्ने बताएको छ ।
डाक्टर केसी १९ औं पटक अनशनमा बस्नुभएको आज २७ दिन पुगेको छ । उहाँले सरकारसँग ०७५ साउन १० गते गरिएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐन संशोधन गर्नुपर्ने, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आईओएममा वरिष्ठता मिचेर गरिएका नियुक्ति सच्याउनुपर्ने र बयलपाटा अस्पताललाई नियमित र आवश्यक बजेट व्यवस्था गरी निःशुल्क स्वास्थ्य सेवा सुनिश्चित गर्नुपर्ने लगायत ६ बुँदे माग राख्नुभएको छ ।
उहाँको माग शिक्षा, स्वास्थ्य मन्त्रालय, आयोग र त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित छन् । गएको भदौ २९ गते डाक्टर केसीले जुम्लाको धर्मशालामा अनशन सुरु गर्नुभएको थियो । पछि काठमाण्डौ ल्याइएका उहाँ अहिले शिक्षण अस्पताल महाराजगन्जमा अनशनमा हुनुहुन्छ ।
No comments:
Post a Comment