प्रधानमन्त्री अब नयाँ नक्सा लिएर भारतसँग वार्ताका लागि जानुहुन्छ : उपप्रधानमन्त्री पोखरेल - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 29 December 2020

प्रधानमन्त्री अब नयाँ नक्सा लिएर भारतसँग वार्ताका लागि जानुहुन्छ : उपप्रधानमन्त्री पोखरेल


काठमाडौं, १४ पुस :
उपप्रधानमन्त्री इश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली नेपालको नयाँ चुचे नक्सा लिएर भारत सरकारसँग वार्तामा जाने बताउनुभएकाे छ । राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियू सिन्धुपाल्चोकले काठमाडौँमा आयोजना गरेको विद्यार्थी भेला कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्री ओलीले अब भारत भ्रमण गरेमा नयाँ चुचे नक्सा लिएर जाने बताउनुभयाे ।

उहाँले प्रधानमन्त्री ओलीले नयाँ नक्सा लिएर भारत सरकारसँग आँखामा आँखा जुधाएर वार्ताका लागि भ्रमणमा जाने उल्लेख गर्नुभयाे । उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्री ओली राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता, स्वाभिमान र आत्मसम्मानको पक्षमा उभिए वापत दण्ड गर्न खोजिएको आरोप लगाउनुभयाे । उहाँले पार्टी भित्रका नेताहरूले पदको आकांक्षामा षड्यन्त्रको बाहक बनेर काम गर्नु दुर्भाग्यपूर्ण भएको बताउनुभयाे । ‘प्रधानमन्त्रीले अब आँखामा आँखा जुधाएर कुरा गर्ने भन्नु भएको छ,’ उहाँले भन्नुभयाे, ‘अब प्रधानमन्त्रीले भारत भ्रमण गर्नुभयो भने चुच्ने नक्सा लिएर भारतले कहिले भूमि छोड्छ भनेर कुरा गर्न जानुहुन्छ ।’

उपप्रधानमन्त्री पोखरेलले जनताको आकांक्षा पूरा गर्न ठूला सपना देखेर दुई ठूला कम्युनिष्ट पार्टीबीच एकता भए पनि अहिले बज्रपात भएको बताउनुभयाे । पुष्पकमल दाहाल प्रचण्डसँग पार्टी एकता बचाउन प्रधानमन्त्री ओलीले आग्रह गर्नुभए पनि अस्वीकार गरेको भन्दै प्रचण्डले प्रधानमन्त्रीमाथि लगाउनुभएको आरोप गलत भएको जिकिर गर्नुभयाे । 

उहाँले प्रधानमन्त्री ओली महाधिवेसनपछि अध्यक्ष पद छाड्न तयार रहे पनि निर्वाचित प्रधानमन्त्रीलाई तत्काल हट्न दबाब दिएपछि बाध्य भएर संसद विघटन गरेर आम निर्वाचनको घोषणा गरिएको बताउनुभयाे । प्रचण्ड–नेपालको चरम महत्वाकांक्षकाका कारण अहिलेको दुर्भाग्यपूर्ण अवस्था निम्तिएको उहाँले आरोप लगाउनुभयाे ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.