प्रतिगमनविरुद्ध बृहत् नागरिक खबरदारी - pharaksandesh.com

मुख्य समाचार


Saturday 26 December 2020

प्रतिगमनविरुद्ध बृहत् नागरिक खबरदारी


काठमाडाैँ, ११ पुस :
प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलन सुरु भएको छ। नागरिक आन्दोलनका अगुवाहरुले शनिबार काठमाडौंको माइतीघर मण्डलामा नाटकसहित विरोध प्रदर्शन गरेका छन्। ‘प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलन’ लेखिएको ब्यानरसहित सहभागीहरूले शंख बजाउँदै संसद् विघटनको विरोध गरेका हुन् ।

गत आइतबार प्रधानमन्त्री केपी ओलीले अचानक प्रतिनिधिसभा विघटन गरेपछि उहाँकाे याे कदमकाे चौतर्फी विराेध सुरु भएको छ ।

नेपालको संविधानमाथि प्रहार भएकाले विरोध प्रदर्शन गर्नुपरेको बृहत् नागरिक आन्दोलनमा सहभागी अधिकारकर्मीहरूले बताएका छन् । सरकारले संसद् विघटन गरेर देशलाई प्रतिगमनतर्फ लगेको भन्दै सरकारको यो कदम संसद् विघटन मात्रै नभई संविधानमाथिकै आक्रमण भएको उनीहरूको भनाइ छ ।

प्रदर्शनमा सहभागी नागरिक अधिकारकर्मीहरूले संविधानभित्रैबाट अहिलेको समस्याको समाधान खोज्नुपर्ने बताएका छन् । प्रदर्शनमा ‘जो रक्षक उही भक्षक’, ‘संविधानमाथि तिरैतिर, प्रतिगामीलाई खिरैखिर’, ‘संसद् विघटनको दुस्साहस, लोकतन्त्रको उपहास’, ‘म नागरिक संविधानको पालक, नेताज्यू तपाईं नि ?’, ‘समृद्धिको यात्रा, ओलीको गाईजात्रा’, ‘संविधानमाथिको प्रहार, इतिहासको ठूलो अत्याचार’ लेखिएका प्लेकार्ड प्रदर्शनकारीहरूले बोकेका थिए । 

बृहत् नागरिक आन्दोलनले आगामी दिनका लागि थप आन्दोलनका कार्यक्रम पनि सार्वजनिक गरेको छ । नागरिक अगुवाहरूले पुस १८ गतेसम्म एक दिन बिराएर प्रदर्शन गर्ने कार्यक्रम तय गरेको बताएका छन् ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.