फिदिम, १९ मंसिर : भारतको सिक्किम र पश्चिम बङ्गाल राज्यसँग जोडिएका नेपालतर्फको पूर्वी सीमामा गस्ती हुन थालेको छ । यस क्षेत्रमा बिओपी (बोर्डर आउट पोष्ट) खडा गरेर नेपाल सशस्त्र प्रहरी बल (एपीएफ्) का सुरक्षा दस्ता राखिएसँगै गस्ती भएको हो ।पाँचथरको याङ्वरक गाउँपालिकाको चिवाभञ्ज्याङ, तोरीफूले र फालेलुङ गापाको भैंसे र फालोटमा हालै विओपी राखिएको हो ।
फिदिमको एपिएफ् हिमशिखर गुल्मबाट पाँचथरतर्फ स्थापित बिओपीको लागि सुरक्षाकर्मी खटाइएका छन् । बिओपी मार्फत आफूहरुले नेपाली सीमा क्षेत्रको उच्च सतर्कताका साथ रेखदेख गर्न थालेको हिमशिखर गुल्मका डिएसपी किशोरकुमार श्रेष्ठले बताउनुभयो । उहाँले बाक्लो सुरक्षा गस्ती बढाएर सिमा निगरानी कडा पारिएको सुनाउनुभयो । याङ्वरक उपप्रमुख कमलकुमारी योङ्हाङ र फालेलुङ प्रमुख सञ्चकुमार केरुङले बिओपी व्यवस्थाले आफ्नो क्षेत्रको धेरै सुरक्षा महसुस हुन थालेको सुनाउनुभयो । उहाँहरुले बिओपी स्थापनाका लागि स्थानीय तहबाट सहयोग गरिएको पनि सुनाउनुभयो ।
उपप्रमुख योङहाङले बिओपी पुग्ने मोटरबाटो स्तरोन्नती तथा उद्घाटन प्रवन्धमा याङ्वरकले १३ लाख रुपिँया सहयोग गरेको सुनाउनुभयो । त्यसैगरी बाटो, सोलार प्रवन्धकै लागि फालेलुङले पनि सहयोग पु¥याएको प्रमुख केरुङको भनाइ छ । स्थानीय तह प्रमुखका साथै भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङद्वारा बिओपीहरुको उद्घाटन भएको थियो । अहिले अस्थायी विओपी स्थापना गरिएको हो ।
तत्कालका लागि पर्यटक प्रयोजनका लागि गापाहरुले बनाएका होमस्टे र हिलस्टेसनमा बिओपी राखिएको हो । स्थायी व्यवस्थाका लागि आफ्नै भवन बन्ने तयारीमा रहेको डिएसपी श्रेष्ठले सुनाउनुभयो । यहाँको सिमा सुरक्षाका लागि सुरक्षाकर्मीले विकटताको भने सामना गर्नु पर्ने अवस्था छ । यस क्षेत्र तीन हजार देखि चार हजार ५०० मीटर उचाईमा अवस्थित छ । यसका कारण हिउँदमा वाक्लो हिउँ पर्ने हुनाले चिसोसंग मुकाविला गर्नु पर्ने पनि हुन्छ । मुख्यगरी सिमा क्षेत्रमा सुविधादायी यातायातका साथै सञ्चार र विद्युत सेवा छैन । यी समस्याको व्यावस्थापन गरे सिमा सुरक्षामा प्रभावकारीता पुग्ने डिएसपी श्रेष्ठले बताउनुभयो ।
विगतमा नेपाली सुरक्षाकर्मीको अनुपस्थितिले रेखदेख विहिन रहेको पाँचथरतर्फको सीमा क्षेत्रवासीले विभिन्न खाले समस्या झेल्नु पथ्र्यो । नेपालको सिमा क्षेत्रका् लाखौ मुल्य बराबरको जडीबुटीको चोरी तथा बन्यजन्तुको शिकार हुने गथ्र्यो । गाउँघर विहिन नेपाल तर्फको पाँचथरको सीमा क्षेत्रको रेखदेख नेपाली चौरी पालक गोठालाको भरमा हुने गथ्र्यो ।
हिमपातको समयमा गोठाला औलमा झरेको बखत छ महिना सिमा क्षेत्र बेवारिसे हुने गथ्र्यो । यो मौकामा भारतीय सीमा सुरक्षा बलका जवानले नेपाली वन फाडेर आफ्नो क्याम्पका लागि आवस्यक काठ दाउरा लान्थे । यसैगरी दशगजा क्षेत्रमा सिमा स्थम्भमा क्षती पुग्ने गरी मोटरबाटोको विस्तार तथा यही क्रममा अनधिकृतले नेपाली ढुङ्गा माटोको प्रयोग भारतीय पक्षबाट हुने गथ्र्यो । यहाँको नेपाल भारत सीमा क्षेत्रको धेरै सिमा स्तम्भ गायव पनि पारिएका छन् । अब यी सवै अवैध गतिविधि रोख्नमा बिओपीबाट जोड दिन थालिएको डिएसपी श्रेष्ठले सुनाउनुभयो ।

No comments:
Post a Comment