काठमाडौँ, ७ माघ : विभाजित नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री र पार्टीको मूल नेतृत्वमा दुई कार्यकाल भन्दा बढी हुन नपाइने विषयमा ‘राजनीतिक समीक्षा’ गर्ने बताउनुभएकाे छ । ‘यही समूहले त्यो प्रणाली बसाउँछ’ प्रचण्डले बुधबार बिहान सम्पादकहरुसँगको अन्तर्क्रियामा भन्नुभयाे, ‘हामी प्रधानमन्त्रीका लागि मरिहत्ते गर्दैनौं । यतिखेर त्यति भन्दा बढी ब्याख्या गर्दिन ।’
प्रचण्ड-नेपाल खेमामै यतिखेर तीन पूर्व प्रधानमन्त्री हुनुहुन्छ । जसमा प्रचण्ड दुई पटक र माधवकुमार नेपाल र झलनाथ खनाल एक-एक पटक प्रधानमन्त्री भइसकेका व्यक्ति हुनुहुन्छ । प्रचण्ड र नेपालले बुधबार सम्पादकहरुसँग पार्टी विभाजनदेखि प्रतिनिधि सभा पुनर्स्थापनासम्म छलफल गर्नुभएकाे थियाे ।
आन्दोलन हिंसात्मक हुन सक्ने उहाँको चेतावनीका सवालमा प्रचण्डले भन्नुभयाे, ‘मुलुक दुर्घटनामा जाँदा आवेग, आक्रोश र चिन्ता व्यक्त गर्न खोजिएको हो । त्यसरी हिंसात्मक भनेको होइन ।’ माधवकुमार नेपालसँगको गठबन्धन टिकाऊ सन्दर्भमा प्रचण्डले ‘विचार र विधिमा एकता भएको हुँदा अलि परै जान सक्ने’ टिप्पणी गर्नुभयाे । उहाँले भन्नुभयाे, ‘ओलीसँग पनि व्यक्तिगत दुश्मनी होइन । विचार, आदर्श, विधि र पद्धति मिचेपछि यस्तो स्थिति पैदा भएको हो ।’
उहाँले सत्ता प्राप्तिका निम्ति केपी शर्मा ओली ‘जस्तो सुकै’ सम्झौता गर्न तत्पर जिकिर गर्दै आलोपालो सम्झौता पनि उल्लंघन गरेको दाबी प्रचण्डको थियो । उहाँले भन्नुभयाे, ‘मैले बिग्रेला कि भन्ने चिन्ताले सहिरहेँ, तर परिणाम राम्रो भएन ।’
उहाँले ओलीसँग फेरि तत्काल सम्झौता या एक हुने सम्भावना नरहेको बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘ओलीजी पश्चाताप वा आत्मालोचना गर्नेतिर देखिनुहुन्न । उहाँ कुर्सी भाँच्न र घरै जलाउन उद्यत हुनुहुन्छ । त्यसकारण तत्काल एक हुने सम्भावना छैन ।’
नेकपा विभाजनपछि एक समूहले अर्को समूहविरुद्ध गाली-गलौज गर्ने क्रम तीव्र छ । त्यसमा अर्का अध्यक्ष माधवकुमार नेपाल चाहिँ ‘वाध्यतावश’ त्यसो गर्नुपरेको उल्लेख गर्नुभयाे । उहाँ भन्नुहुन्छ, ‘दुर्वाच्य बोल्न उछिनँ-पाछिन गरेको विषयमा ध्यानाकर्षण भएको छ । अनि लोकतान्त्रिक चरित्र प्रदर्शन गर्नेमा दुवै उस्तै हो भन्ने भान परेको छ ।’
‘हेर्नुस् कस्तो गाह्रो छ’ नेपालले भन्नुभयाे, ‘त्यो मोरङ कलेजमा पढ्ने त्यो ठेट्ना र जागिरे केटो भनी केपी ओली बोलिरहन्छन् । त्यसमा केही जवाफ दिँदा कस्ता रद्दी मानिस रहेछन् भन्नै पर्ने हुन्छ ।’ उहाँले आफूलाई प्रधानमन्त्रीले ओलीले जेल कोच्ने षडयन्त्र गरेको बताउनुभयाे । ‘हेर्नोस् त मलाई जेल कोच्ने कत्रो षडयन्त्र भएको थियो, त्यो ललिता निवास काण्डमा’ उहाँले भन्नुभयाे, 'मेरो राजनीतिक जीवन सिध्याउने खेल रचिएको थियो । केपी ओली पूरै बदला भावना हुनुहुन्छ, कसैले चुनौति दियो भने सिध्याउन खोज्नुहुन्छ । त्यहीकारण आलोचना गर्नेहरुलाई साइबर सेना लगाउनुहुन्छ ।’

No comments:
Post a Comment