असंवैधानिक कदम नसच्चिएसम्म कांग्रेस कुनै हातलमा चुनावमा जाँदैन : रामचन्द्र पौडेल - pharaksandesh.com

मुख्य समाचार


Saturday, 23 January 2021

असंवैधानिक कदम नसच्चिएसम्म कांग्रेस कुनै हातलमा चुनावमा जाँदैन : रामचन्द्र पौडेल


काठमाडाैँ, १० माघ :
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदम अलोकतान्त्रिक, असंवैधानिक र सर्वसत्तावादी भएकाले नसच्चिएसम्म कांग्रेस कुनै हालतमा चुनावमा जान नसक्ने बताउनुभएकाे छ । शनिबार विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै पौडेलले ओलीको कदम प्रतिगमनकारी भएकाले कांग्रेसले प्रस्ट रूपमा विघटित प्रतिनिधिसभा पुनर्स्थापनाका लागि संघर्ष थाल्ने बताउनुभयाे । 

उहाँले कांग्रेस संविधानले प्रदान गरेको कानुनको हकअनुसारको चुनावमा मात्र भाग लिने, तर कसैको लहडमा गरेको राष्ट्रघाती कदमलाई साथ दिन चुनावमा नजाने स्पष्ट पार्नुभयाे । 

नेता पौडेलले पटक–पटक लहड र सनकका लागि अर्बौँ खर्चेर चुनाव गराउँदा देश झन् गरिब हुने र राजनीतिक अस्थिरतामा फस्ने भएकाले कांग्रेसले त्यस्तो कदमलाई कदापि साथ दिन नसक्ने प्रस्ट्याउनुभयाे । 

उहाँले संविधानमा प्रस्ट रूपमा प्रतिनिधिसभा भत्काउन पाइँदैन भनेर व्यवस्था गरेकाले कांग्रेसले पनि प्रतिनिधिसभा पुनर्स्थापनाका लागि संघर्षमा जाने निर्णय गरिसकेको बताउनुभयाे । पत्रकारहरूमार्फत कार्यकर्तालाई चुनावको बहानामा नलोभिन आग्रह गर्दै पौडेलले भन्नुभयाे, ‘कसले भन्यो ? पार्टीको प्रस्ट निर्णय छ कांग्रेस चुनावमा हैन प्रतिगमन विरोधी संघर्षमा जान्छ, कसैले दायाँबायाँ गर्न पाउँदैन, संविधानमा टेकेर मात्र चुनावमा जाने हो ।’ 

नेता पौडेलले प्रधानमन्त्री ओलीको असंवैधानिक निर्णय मान्न अदालत पनि बाध्य नभएकाले विघटित प्रतिनिधिसभा अदालतबाट पुनस्र्थापित हुने विश्वास व्यक्त गर्नुभयाे । उहाँले राष्ट्र जोगाउने आधार अब अदालत मात्र भएकाले आफूहरूले न्यायमूर्तिहरूमाथि पूर्ण विश्वास राखेर प्रतीक्षा गरिरहेको बताउनुभयाे । 

वरिष्ठ नेता पौडेलले कांग्रेस मुख्य प्रतिपक्ष भएकाले संघ र प्रदेशमा प्रस्ट भएर जिम्मेवार रूपमा प्रतिपक्षीको भूमिका निभाउने बताउनुभयाे । उहाँले अविश्वासको प्रस्ताव दर्ता भएका प्रदेशमा सत्ताको विपक्षमा मतदान गर्ने कांग्रेसको धारणा सुनाउनुभयाे । पत्रकारहसँग उहाँले भन्नुभयाे, ‘हामी भागबन्डामा लोभिदैनौँ, प्रतिपक्षको धर्म प्रस्ट निभाउँछौँ, यसैले सत्ताको विपक्षमा मत हाल्छौँ ।’

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.